Banijya News

डिजिटल कारोबारले थपियो चुनौती, बढ्यो अनलाइन बैंकिङ ठगी 

1
1.0K Shares

प्रविधिको विकास र विस्तारसँगै बैंकिङ कारोबारमा पनि आमूल परिवर्तन भएको छ । केही वर्ष अघिसम्म बैंकको शाखामा सीमित रहेको बैंकिङ सेवा अहिले मोबाइल फोनमार्फत हात–हातमा पुगेको छ । अर्थात्, मोबाइल बैंकिङको प्रयोगले बैंकिङ कारोबारलाई सहज बनाइदिएको छ । यो सहजतासँगै अनलाइन बैंकिङ ठगी र व्यक्तिगत विवरणको दुरुपयोगको चुनौती पनि उत्तिकै बढ्दै गएको छ ।

डिजिटल बैंकिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनलाइन बैंकिङ ठगीका घटनाहरू पनि बढ्दै गइरहेका छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटको सहज पहुँचसँगै साइबर अपराधीहरूले विभिन्न प्रलोभन, फिसिङ लिंक, नक्कली वेबसाइट र ओटिपि माग्ने जस्ता उपाय अपनाएर सर्वसाधारणलाई ठगी गर्ने क्रम बढिरहेको छ ।

प्रहरीका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्ममा ४९ करोड ८४ लाख रुपैयाँ बराबरको अनलाइन ठगी भएको छ । जसमा अनलाइन बैंकिङबाट मात्रै २ करोड ९३ लाख ६६ हजार ठगी भएको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार, चालु आवको हालसम्म अनलाइन बैंकिङ ठगीसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरीको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा अनलाइन बैंकिङ ठगीका २७ वटा मुद्दा दर्ता भएका थिए । ती घटनामा ६६ जना पक्राउ परेका थिए भने १० करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबरको ठगी भएको तथ्यांक छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १७ वटा मुद्दा दर्ता हुँदा १९ जना पक्राउ परेका थिए । सो अवधिमा १ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको ठगी भएको थियो ।

प्रहरीका अनुसार, ठगी गर्ने समूहले बैंक, वालेट कम्पनी वा सरकारी निकायका कर्मचारी भएको भन्दै फोन, एसएमएस, ईमेल तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने, आकर्षक अफर, पुरस्कार वा खातामा समस्या आएको बहाना बनाएर गोप्य विवरण माग्ने जस्ता उपाय अपनाइरहेका छन् । प्रयोगकर्ताले ओटीपी, पासवर्ड, पिन नम्बर वा अन्य गोप्य जानकारी उपलब्ध गराएपछि खाताबाट रकम निकाल्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

यस्ता ठगहरूले विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्दै निजहरूको ओटीपी र पिन माग गरी अनधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पुर्‍याई रकम ठगी गर्छन् । ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफूले प्रयोग गर्ने र प्रयोग गरेबापत निश्चित रकम दिने गरेको साइबर ब्युरोले जनाएको छ ।

यसरी अनलाइन बैंकिङ वा वालेटबाट ठगी गरी कमाएको रकम क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । यसैगरी, वालेटहरूबाट ठग्नेहरू पनि बढी रहेका छन् । प्रहरीका अनुसार वालेटहरूबाट चालु आर्थिक वर्षमा २३ करोड ९७ लाख २० हजार ठगी भएको छ ।

कतिपय अवस्थामा सामाजिक सञ्जालमार्फत पनि ठगी हुने गरेका छन् । कुनै परिचित व्यक्तिको फोटो प्रयोग गरेर नक्कली खाता खोली साथी बनेर आफू यात्रामा रहेको, बैंक कार्ड नचलेको वा आकस्मिक समस्या परेको भन्दै १०–१५ हजार रुपैयाँ रकम माग्ने गर्छन् । केहीले विदेशबाट आएको भन्दै करोडौँ डलर वा ठुलो सम्पत्ति हस्तान्तरण गरिदिने आश्वासन दिएर बैंक खाताका विवरण र व्यक्तिगत विवरण माग्ने समेत गर्छन् । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका व्यक्तिको विश्वास जित्ने र महँगा उपहार, मोबाइल, गहना वा नगद पठाएको भन्दै पार्सलको तस्बिर र ट्रयाकिङ नम्बर पठाएर भन्सार कार्यालय वा कुरियर कम्पनीको कर्मचारी बताउँदै सामान छुटाउन शुल्क तिर्नुपर्ने भन्दै नेपाली बैंक खातामा रकम जम्मा गर्न लगाउनेहरू पनि पछिल्लो समयमा बढेको साइबर ब्युरोले जनाएको छ ।

त्यस्तै, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी बैंक कर्मचारी बनेर फोन गर्ने पनि पछिल्लो समयमा बढेका छन् । खातामा समस्या आएको, सेवा अद्यावधिक गर्नुपर्ने वा सुरक्षा परीक्षण भइरहेको भन्दै मोबाइलमा आएको ओटिपि वा भेरिफिकेसन कोड माग्ने गरेको घटना प्रहरीसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । एकपटक ओटिपि उपलब्ध गराएपछि ठगी गर्ने व्यक्तिले मोबाइल बैंकिङको नियन्त्रण लिएर खातामा रहेको रकम अन्यत्र सार्ने गर्दछ । उक्त रकम सारिएको खाता ठगको नभई सामान्य व्यक्तिको हुने भएकाले अनुसन्धान गर्न जटिल हुने प्रहरीहरु बताउँछन् ।

डिजिटल बैंकिङले सहजता मात्र हैन, चुनौती पनि उत्तिकै थपिदिएको छ । त्यसैले, डिजिटल बैंकिङ सुविधाको सुरक्षित रूपमा उपयोग गर्न प्रयोगकर्ता स्वयं नै चनाखो हुनुपर्दछ । यसका लागि बलियो पासवर्ड प्रयोग गर्ने, दुई तहको प्रमाणीकरण (टु–फ्याक्टर अथेन्टिकेसन) प्रयोग गर्ने, ओटीपी वा गोप्य जानकारी कसैसँग साझेदारी नगर्ने तथा आधिकारिक बैंकिङ एप र वेबसाइट मात्र प्रयोग गर्ने गर्नपर्दछ । साथै, अपरिचित लिंकमा क्लिक नगर्ने, सामाजिक सञ्जाल वा फोनमार्फत आएका सन्देशको सत्यता सम्बन्धित बैंक वा सेवा प्रदायकसँग पुष्टि गर्ने बानीले पनि ठगीबाट जोगिन सकिन्छ । यसतर्फ बैंकका ग्राहक वा सेवा प्रयोगकर्ता स्वयं नै सचेत बन्न जरुरी छ ।

1

Scroll to Top