Banijya News

बालेन सरकारको फास्ट ट्रयाक फन्दामा परे १०१ जना, ११८ अर्बको बिगो दाबी

1
1.1K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार र वित्तीय अपराधविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै कानुनी कदम चालेको छ । सरकार गठन भएलगत्तै अनुसन्धानमा फास्ट ट्राकमा उत्रिएको सरकारको फन्दामा उच्च राजनीतिक व्यक्तिदेखि उद्योगी, व्यवसायीसम्म परे ।

सरकार बनेको छोटो समयमा नै भ्रष्टाचार र वित्तीय अपराधलाई छानबिन गरी १०१ जनाविरुद्ध मुद्दा दायर भएका छन् । सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको सरकारको उपलब्धि प्रतिवेदनअनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ११८ अर्ब रुपैयाँ विगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

राज्यकोषको दोहन र नीतिगत सेटिङमा संलग्न रहेका व्यक्तिहरूलाई लक्षित गरी सरकारले सातवटा विशेष मुद्दा दायर गरेको हो । जसमा १०१ जना प्राकृतिक तथा कानुनी व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणमा अनुसार, वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्नहरूलाई कानुनी दायरामा ल्याएर यति ठुलो परिमाणको बिगो दाबी गर्नुलाई ऐतिहासिक कदम मानिएको छ । सरकारले धितोपत्र बोर्ड ऐन र बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान र कारबाहीको प्रक्रियामा ल्याएको छ ।

यसैगरी, सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने लक्ष्यका साथ सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन बैंक खाता, डिजिटल वालेट र सेयर लगानीलाई समेटेर एकीकृत डिजिटल सम्पत्ति लगत स्थापनाको प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

1

Scroll to Top