Banijya News

आमिर खानले गौरी स्प्रेटसँग गरे तेस्रो विवाह, परिवार र निकट साथीबीच विवाह सम्पन्न

1
1.0K Shares

बलिउडका चर्चित अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग औपचारिक रूपमा विवाह गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा आयोजित पारिवारिक समारोहमा दुवैले वैवाहिक जीवनको नयाँ यात्रा सुरु गरेका हुन्। विवाहमा परिवारका सदस्य तथा सीमित संख्यामा रहेका निकट साथीभाइ मात्र सहभागी भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका आमिर र गौरीले निजी वातावरणमा विवाह सम्पन्न गरेका हुन्। आमिरका प्रवक्ताले दुवै आधिकारिक रूपमा पति–पत्नी बनेको पुष्टि गरेका छन्। समारोहमा आमिरका अघिल्ला विवाहबाट जन्मिएका सन्तानहरू पनि उपस्थित थिए। विवाहअघि उनकी छोरी आइरा खान र छोरा जुनैद खान बान्द्रास्थित निवासमा पुगेका थिए। कार्यक्रममा फिल्म निर्देशक आशुतोष गोवारिकर तथा अभिनेत्री एली अवरामलगायतका केही निकट व्यक्तिहरू पनि सहभागी भएका थिए।

आमिर र गौरीको चिनजान भने आजको होइन। उनीहरू करिब २५ वर्षअघि पहिलोपटक भेटिएका थिए। त्यसपछि लामो समय आ–आफ्नो जीवनमा व्यस्त रहे पनि पुनः भेट भएपछि सम्बन्धले नयाँ मोड लिएको थियो। आमिरकी बहिनी नुजहत खानमार्फत उनीहरूको पुनर्मिलन भएको बताइन्छ। त्यसपछि सुरु भएको मित्रता विस्तारै प्रेम सम्बन्धमा परिणत भएको थियो।

प्रेम सम्बन्ध सार्वजनिक गर्नुअघि दुवैले झन्डै एक वर्ष लामो दूरीको सम्बन्धलाई निरन्तरता दिएका थिए। पछि गौरी आफ्ना छोरासहित बेंगलुरुबाट मुम्बई सरेकी थिइन्। उनले आफ्नो पूर्व पेशा छाडेर अहिले आमिर खान प्रोडक्सनसँग आबद्ध भएर काम गरिरहेकी छन्। विवाहअघि पनि यो जोडी करिब एक वर्षदेखि एउटै घरमा बस्दै आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

आमिरले पहिलोपटक गौरीलाई सार्वजनिक रूपमा आफ्नो जीवनसाथीका रूपमा सन् २०२५ मा ६०औँ जन्मदिनको अवसरमा परिचय गराएका थिए। त्यसयता दुवै विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिन थालेका थिए। केही साताअघि मात्र आमिरले आफूहरूले विवाह गर्ने तयारी गरिरहेको खुलासा गरेका थिए। उनले विवाह दर्ता प्रक्रियामार्फत सम्पन्न हुने र त्यसपछि परिवार तथा निकट साथीबीच सामान्य उत्सव मनाइने जानकारी दिएका थिए।

यो आमिरको तेस्रो विवाह हो। उनले पहिलो विवाह सन् १९८६ मा रीना दत्तसँग गरेका थिए। करिब १६ वर्ष लामो वैवाहिक जीवनपछि उनीहरू अलग भएका थिए। उनीहरूका छोरा जुनैद र छोरी आइरा छन्। सम्बन्ध विच्छेदपछि पनि आमिर र रीनाबीच सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताइन्छ।

त्यसपछि आमिरले फिल्म निर्देशक किरण रावसँग विवाह गरेका थिए। फिल्म लगान निर्माणका क्रममा सुरु भएको चिनजानपछि उनीहरूले वैवाहिक जीवन सुरु गरेका थिए। उनीहरूका छोरा आजाद राव खान सरोगेसीमार्फत जन्मिएका हुन्। सन् २०२१ मा सम्बन्ध अन्त्य गर्ने निर्णय गरे पनि दुवैले मित्रवत सम्बन्ध कायम राखेका छन्। अहिले पनि उनीहरू फिल्म निर्माण र सामाजिक परियोजनामा सहकार्य गर्दै आएका छन्।

गौरीसँगको विवाहसँगै आमिरले जीवनको नयाँ अध्याय सुरु गरेका छन्। निजी जीवनलाई सधैं सन्तुलित र मर्यादित रूपमा प्रस्तुत गर्दै आएका आमिरले यसपटक पनि विवाहलाई भव्य कार्यक्रमभन्दा पारिवारिक र आत्मीय वातावरणमा सम्पन्न गर्न रुचाएका छन्।

1

Scroll to Top