नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । वर्तमान सरकारका सय दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चिन्ता गर्नुपर्ने विषयमा पनि सरकारका मन्त्रीहरूबाटै आपत्तिजनक विषयहरू बोल्ने गरेको बताए ।
‘अहिले पनि प्रदेशको नामहरूको बारेमा समस्या छ, मुद्दाहरू छन् । यो विषयहरूको सन्दर्भ नबुझिकन यसलाई बडो हल्कासँग, अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्री आउनुभएको छ, एउटा कुरा बोलिदिनुभएको छ,’ सभापति थापाले भने । यसमा थप अगाडि भने, ‘एउटाले एउटा थपिदिएको छ, अर्कोले एउटा ठोकिदिएको छ, अर्कोले एउटा खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ ।’ यस्ता संवेदनशील विषयहरूमा सरकार सञ्चालन गर्ने दलकै व्यक्तिहरूबाटै ध्यान नदिएको जिकिर गरे ।
यो सबै कुरा हेर्दा संविधान बनाउने बेलाका हाम्रा संवेदनशीलताहरूलाई सरकार सञ्चालन गर्ने दलका साथीहरूले पटक्कै ध्यान दिनुभएको छैन, त्यसलाई ख्याल गर्नुभएको छैन भन्ने लागेको थापाको भनाइ छ । आफूहरू संविधान संशोधनको पक्षमा भएको तर यसलाई हचुवाको भरमा गर्दा एकैछिनमा आगो बाल्नसक्नेतर्फ उनले सरकारलाई सचेत गराए ।
‘हामी संविधान संशोधन गर्ने पक्षमा नभएको होइन । बकाइदा गर्नुपर्ने छ । पुनरावलोकन गर्नुपर्ने छ । तर यसरी होइन, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ,’ थापाले भने, ‘अधिकारको विषय त्यतिबेलासम्म गौण हुन्छ, जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर अधिकारको विषय चलाइयो भनेको बेलामा सबैभन्दा बढी महत्वपूर्ण विषय त्यतिबेला नै बन्छ । भाषाको विषय सबैभन्दा बढी महत्त्वपूर्ण विषय बन्छ । समावेशीताको विषय सबैभन्दा बढी महत्वपूर्ण विषय बन्छ ।’
सभापति थापाले विविधताहरूलाई सम्बोधन गर्ने विषय सबैभन्दा बढी महत्वपूर्ण हुने भन्दै जे मन लाग्यो त्यही पारामा नचल्न आग्रह गरे । यी विषयहरूलाई बडो हल्का पाराले, म त भन्छु बडो लफंगो पाराले, जे मन लाग्छ, त्यही बोलिदिएको छ, जे मन लाग्छ त्यही गरिदिएको छ । यो अर्को एउटा चिन्ताको विषय भएको थापाको भनाइ छ ।


