Banijya News

‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट सम्पन्न, १९ कार ब्रान्डसहित सयौँ प्रदर्शक सहभागी हुने

1
1.0K Shares

नेपालका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट प्रक्रिया सम्पन्न गरेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोको तयारीलाई तीव्र बनाउँदै नाडाले आइतबार गोला प्रथामार्फत सहभागी कम्पनीहरूलाई स्टल उपलब्ध गराएको हो।

नाडा सचिवालयमा आयोजित गोला प्रथा कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य तथा प्रदर्शनीमा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पारदर्शी र निष्पक्ष रूपमा स्टल बाँडफाँट गर्ने उद्देश्यले गोला प्रथा अपनाइएको नाडाले जनाएको छ।

यसअघि गत महिना प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरूका लागि स्टल दर्ता खुला गरिएको थियो। निर्धारित समयभित्र आवेदन दिएका कम्पनीहरूलाई गोला प्रथामार्फत स्टल छनोटको अवसर प्रदान गरिएको हो। नाडाका अनुसार यस प्रक्रियाले सबै सहभागी कम्पनीलाई समान अवसर उपलब्ध गराउनुका साथै प्रदर्शनी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

यस वर्षको अटो शोमा विभिन्न सवारी साधन, अटो कम्पोनेन्ट्स, वित्तीय सेवा प्रदायक तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित अन्य संघ–संस्थाहरूको व्यापक सहभागिता रहनेछ। नाडाले सार्वजनिक गरेको विवरणअनुसार गोला प्रथाबाट १९ वटा प्यासेन्जर भेहिकल ब्रान्ड, १० वटा दुईपांग्रे सवारीसाधन ब्रान्ड, १७ वटा लाइट कमर्शियल भेहिकल कम्पनी तथा ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई ७६ वटा साना स्टल उपलब्ध गराइएको छ।

आयोजकका अनुसार नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोबाइल प्रदर्शनी भएकाले हरेक वर्ष नयाँ प्रविधि, अत्याधुनिक सवारीसाधन तथा नवीनतम अटोमोटिभ समाधानहरू अवलोकन गर्ने अवसर उपभोक्ता तथा व्यवसायीले पाउने गरेका छन्। यस वर्ष पनि विद्युतीय सवारीसाधन, इन्धनबाट चल्ने नयाँ मोडेल, व्यावसायिक सवारी, मोटरसाइकल, स्कुटर, स्पेयर पार्ट्स, ग्यारेज उपकरण, लुब्रिकेन्ट, टायर, ब्याट्री, चार्जिङ समाधान, बीमा तथा बैंकिङ सेवासहित अटो क्षेत्रका विविध उत्पादन र सेवाहरू प्रदर्शनीमा समावेश हुने अपेक्षा गरिएको छ।

प्रदर्शनीले अटोमोबाइल व्यवसायलाई चलायमान बनाउन, नयाँ प्रविधिको प्रवर्द्धन गर्न तथा उपभोक्तालाई एउटै थलोमा विभिन्न ब्रान्डका उत्पादन तुलना गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ। पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएकाले यसपटक पनि ईभी ब्रान्डहरूको आकर्षक उपस्थिति रहने अनुमान गरिएको छ।

नाडाका महासचिव मिलनबाबु मल्लले प्रदर्शनीप्रति देखाएको विश्वास र सहभागिताका लागि सम्पूर्ण कम्पनी तथा व्यवसायिक साझेदारप्रति आभार व्यक्त गरे। उनले अटो शो सफल बनाउन आयोजक, सहभागी कम्पनी तथा सरोकारवाला सबै पक्षको सहकार्य महत्त्वपूर्ण रहने उल्लेख गर्दै यस संस्करणलाई अघिल्लाभन्दा अझ व्यवस्थित, सुरक्षित र भव्य बनाउन तयारी भइरहेको जानकारी दिए।

नाडाका अनुसार ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ नेपालका अटोमोबाइल व्यवसायी, आयातकर्ता, उत्पादक, वित्तीय संस्था तथा उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने महत्वपूर्ण व्यावसायिक मञ्चका रूपमा स्थापित भइसकेको छ। प्रदर्शनीमार्फत नयाँ व्यवसायिक सम्भावना सिर्जना हुनुका साथै अटोमोबाइल उद्योगको समग्र विकास, लगानी विस्तार र बजार प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै सहभागी कम्पनीहरूलाई समयमै स्टल निर्माण, उत्पादन प्रदर्शन तथा आवश्यक व्यवस्थापन पूरा गर्न आग्रह गरेको छ। भदौ दोस्रो सातादेखि सुरु हुने उक्त प्रदर्शनीमा हजारौँ दर्शक तथा अटोमोबाइल पारखीको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

1

Scroll to Top