Banijya News

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बिदाइ, संकटपूर्ण समयमा खेलेको नेतृत्वको उच्च प्रशंसा

1
1.1K Shares

निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई औपचारिक रूपमा बिदाइ गर्दै उनको कार्यकालमा पुर्‍याएको योगदानप्रति सम्मान र कृतज्ञता व्यक्त गरेको छ। आयोग परिसरमा आयोजित बिदाइ कार्यक्रममा आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भण्डारीको नेतृत्व, कार्यशैली र निर्वाचन व्यवस्थापनमा उनले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए।

बिदाइ कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आफ्नो कार्यकालभर आयोगको गरिमा, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। उनले भण्डारीलाई मृदुभाषी, कानुनका गहिरा जानकार र जटिल परिस्थितिमा पनि संयमता तथा विवेकका साथ निर्णय लिन सक्ने नेतृत्वका रूपमा चित्रण गरे।

भट्टराईका अनुसार राष्ट्रले विभिन्न राजनीतिक तथा संवैधानिक चुनौती सामना गरिरहेका बेला भण्डारीले आफ्नो अनुभव, कानुनी ज्ञान र नेतृत्व क्षमतामार्फत आयोगलाई सही दिशामा अघि बढाएका थिए। कठिन परिस्थितिमा पनि निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन सम्पन्न गराउन उनले खेलेको भूमिका आयोगको इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्मरणीय रहने उनले बताए।

उनले आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व बनाएका भण्डारीले आयोगमा रहँदा निर्वाचन कानुन, संवैधानिक व्यवस्था तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी रूपमा समन्वय गर्दै आफ्नो कार्यक्षमताको थप परिचय दिएको उल्लेख गरे। आयोगमा हासिल गरेको अनुभव र दक्षताले आगामी दिनमा पनि राष्ट्र र समाजको हितमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै भट्टराईले उनको सुखद्, स्वस्थ र सक्रिय भविष्यको शुभकामना व्यक्त गरे।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विशेषगरी २०८२ साल भदौमा भएको जेनजी आन्दोलनपछि सिर्जित जटिल राजनीतिक तथा सामाजिक परिस्थितिमा आयोगको नेतृत्व सम्हालेका थिए। आन्दोलनपछि तोकिएको निर्वाचन समयमै हुने वा नहुने भन्ने विषयमा व्यापक अन्योल र बहस भइरहेका बेला उनले आयोगलाई स्पष्ट कार्यदिशा प्रदान गर्दै निर्वाचन तयारीलाई निरन्तरता दिएका थिए।

उनकै नेतृत्वमा फागुन २१ गते सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो। निर्वाचनको वातावरण अनुकूल बनाउन राजनीतिक दल, सरोकारवाला निकाय, सुरक्षा संयन्त्र तथा जेनजी पुस्तासँग निरन्तर संवाद र समन्वय कायम गर्दै निर्वाचन प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। निर्वाचनप्रति देखिएको अविश्वास हटाउन तथा लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास कायम राख्न उनको नेतृत्व प्रभावकारी बनेको आयोगका अधिकारीहरूको भनाइ छ।

भण्डारीले आफ्नो कार्यकालमा निर्वाचन प्रशासनलाई थप व्यवस्थित, कानुनसम्मत र उत्तरदायी बनाउन आवश्यक निर्णयहरू अघि बढाएका थिए। निर्वाचन प्रक्रियामा पारदर्शिता, निष्पक्षता र विश्वसनीयता कायम राख्ने विषयलाई उनले प्राथमिकतामा राखेका थिए। आयोगका कर्मचारीहरूको क्षमता अभिवृद्धि, संस्थागत समन्वय तथा निर्वाचन व्यवस्थापनमा आधुनिक अभ्यासलाई प्रोत्साहन गर्ने प्रयाससमेत उनले गरेका थिए।

बिदाइ समारोहमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भण्डारीको नेतृत्व शैली, सरल स्वभाव र जिम्मेवारीप्रतिको समर्पणको प्रशंसा गर्दै उनको आगामी जीवन सफल, स्वस्थ र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। आयोगले पनि लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन उनले पुर्‍याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने विश्वास व्यक्त गरेको छ।

1

Scroll to Top