नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम कसरतमा जुटेको छ। बैंकको आर्थिक अनुसन्धान विभागले नीतिको प्रारम्भिक मस्यौदा तयार पारेसँगै आन्तरिक छलफल र बैठकहरू तीव्र पारिएका छन्। यसै सिलसिलामा राष्ट्र बैंकले व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ, जहाँ विभागले बुझाएको मस्यौदामाथि विस्तृत छलफल हुनेछ।
व्यवस्थापन समितिबाट स्वीकृत भएपछि उक्त मस्यौदालाई राष्ट्र बैंकको सञ्चालक समितिमा लैजाने र त्यहाँबाट पारित हुनासाथ नीति सार्वजनिक गर्ने गभर्नर कार्यालयको योजना छ। परिस्थिति अनुकूल भए आजै, नभए भोलि बिहानसम्ममा मौद्रिक नीति सार्वजनिक भइसक्ने गभर्नर कार्यालय स्रोतले जनाएको छ।
यस विषयमा जानकारी दिँदै राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठले पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको पुष्टि गरेकी छिन्। यद्यपि, बैठकको निर्णय र मस्यौदा पारित हुने समयका आधारमा मात्रै नीति सार्वजनिक हुने सटीक समय तय हुने उनको भनाइ छ।
यसपटकको मौद्रिक नीतिले चालु आर्थिक वर्षको बजेटले लिएका मुख्य आर्थिक लक्ष्यहरूलाई सघाउने गरी कार्यदिशा तय गर्ने अनुमान गरिएको छ, जसमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति (महँगी) लाई ६ प्रतिशतको सीमाभित्रै कायम राख्ने सरकारको मुख्य लक्ष्य रहेको छ।


