Banijya News

एआई चिपको बढ्दो मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ

1
1.1K Shares

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै आवश्यक पर्ने मेमोरी चिपको विश्वव्यापी माग आकाशिएपछि दक्षिण कोरियाली प्रविधि जायन्ट सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिकमा ऐतिहासिक नाफा कमाउने प्रक्षेपण गरेको छ। कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरण अनुसार अप्रिल–जुन अवधिमा यसको परिचालन नाफा ८९.४ खर्ब वोन (करिब ५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा करिब १९ गुणा अर्थात् १,८१० प्रतिशतको अविश्वसनीय वृद्धि हो।

विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङले यस अवधिमा आफ्नो राजस्व पनि १२९ प्रतिशतले बढेर १७१ खर्ब वोन पुग्ने जनाएको छ, जसको विस्तृत प्रतिवेदन यसै महिनाको अन्त्यमा आउनेछ। एआई प्रणाली र डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको उच्च मागका कारण दक्षिण कोरियाका सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीमा निकै ठूलो सुधार देखिएको छ। यही बलियो आर्थिक स्थितिका कारण सामसुङले आफ्ना कामदारहरूसँग बोनससम्बन्धी सम्झौता गर्दै सम्भावित ठूलो हडताललाई समेत टार्न सफल भएको थियो। सेजोङ विश्वविद्यालयका प्राध्यापक किम डे–जोङ यस नाफालाई कम्पनीको इतिहासकै सबैभन्दा ठूलो त्रैमासिक परिचालन नाफा मान्छन्। उनका अनुसार यो लय कायम राख्न सके सामसुङले विश्व बजारमा आफ्नो नेतृत्व अझ सुदृढ गर्नेछ। यद्यपि, एआई चिपको यो उच्च माग कति समयसम्म टिकिरहन्छ र अर्को वर्षपछिको बजार कस्तो हुन्छ भन्ने कुरा अझै चुनौतीपूर्ण र अनिश्चित छ।

यस्तो उत्साहजनक वित्तीय विवरण सार्वजनिक भए तापनि सियोलको कोस्पी सूचकांकमा आएको समग्र गिरावटको प्रभावका कारण मंगलबार बिहानको सेयर कारोबारमा सामसुङको सेयर मूल्यमा करिब सात प्रतिशतको ह्रास देखियो। योन्हाप समाचार एजेन्सीका अनुसार सामसुङको यो प्रारम्भिक नाफा बजार विश्लेषकहरूको औसत अनुमानभन्दा ६.२ प्रतिशतले बढी हो। हाल सामसुङ र यसको प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सले दक्षिण कोरियामा करिब ८ हजार खर्ब वोनको विशाल सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन्। यो ठूलो परियोजना सम्पन्न भएपछि पनि बजारको हालको आम्दानी स्तरलाई टिकाइराख्न सकिन्छ वा सकिँदैन भन्नेमा विश्लेषकहरूमाझ मतभेद छ।

बजारका केही विश्लेषकहरूले एआई पूर्वाधारमा हुन सक्ने सम्भावित लगानी संकुचनलाई चिप उद्योगको जोखिमका रूपमा हेरेका छन्। तर, काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङका अनुसार उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीच अझै ठूलो खाडल रहेकाले तत्कालै मन्दी आउने सम्भावना छैन। हाल उच्च मूल्यका एआई चिप उत्पादनमा ध्यान केन्द्रित गर्दा मोबाइल, ल्यापटप जस्ता साधारण उपकरणमा प्रयोग हुने चिपको उत्पादन घटाइएको छ, जसले गर्दा बजारमा ती इलेक्ट्रोनिक्स सामानको मूल्य बढ्न थालेको छ।

 

1

Scroll to Top