नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ । जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका आधा दर्जन बीमा कम्पनीहरुमा स्थायी प्रमुख कार्यकारी अधिकृत (सिईओ)विना नै सञ्चालन भइरहेका छन् ।
धितोपत्र र बीमा कसुरको आरोपमा करिब आधा दर्जन इन्स्योरेन्स कम्पनीका प्रमुखहरु निलम्बनमा परेका छन् । बीमा कम्पनीका अध्यक्ष, सञ्चालक, सीईओसहित करिब ६० जना विरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएसँगै बीमा ऐनअनुसार उनीहरू पदमा रहन नपाउने व्यवस्था लागू भएको छ । उनीहरुविरुद्ध फौजदारी मुद्दा दायर भएसँगै नेपाल बीमा प्राधिकरणले रिक्त भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) र कामु सिईओ छनोट गरेर काम कारवाही सक्रिय रुपमा सुचारु गर्न निर्देशन दिएको छ । तर, यति समय बितिसक्दा पनि कम्पनीमा कामु सिईओसमेत नियुक्त गर्ने छाँटकाँट नदेखाएका कम्पनीहरुमा कर्मचारीहरुको समेत चर्को दबाब रहेको छ ।
सिर्ईओविना सञ्चालनमा रहेका बीमा कम्पनीहरुको दैनिक काम कारवाहीमा समस्या देखिन थालेपछि प्राधिकरणमा समेत कर्मचारीहरुले यस विषयमा ध्यानाकर्षण गराइसकेका छन् । असारको क्लोजिङमा विशेषगरी समस्या पर्ने कर्मचारीहरुको भनाइ रहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ २८ गते बीमा क्षेत्रमा सबैभन्दा धेरै उच्च पदाधिकारीहरु सहितको बीमा र धितोपत्र कसुरको मुद्दा लागेपछि यति बेला आधा दर्जन बीमा कम्पनीहरुको दैनिक कामकारवाहीमा समस्या देखिन थालेको हो ।
बीमा प्राधिकरणको निर्देशिकाअनुसार सीईओ पद रिक्त भएमा वरिष्ठ कर्मचारीलाई बढीमा तीन महिनासम्म कायममुकायम सीईओको जिम्मेवारी दिन सकिन्छ । तर, धेरै कम्पनीले यही अस्थायी व्यवस्थालाई लामो समयसम्म निरन्तरता दिएका छन् ।
हिमालयन रिइन्स्योरेन्सदेखि आधा दर्जन कम्पनीमा कामु सीईओसमेत तोकिएको छैन । बीमा ऐन, २०७९ ले सीईओ नियुक्त गर्ने अधिकार सम्बन्धित कम्पनीको सञ्चालक समितिलाई दिएको छ । त्यसैले, नियुक्तिमा भएको ढिलाइको पहिलो जिम्मेवारी बोर्डमाथि पर्ने देखिन्छ । यद्यपि, तीन महिनाभित्र स्थायी नेतृत्व नियुक्त गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको भन्दै नेपाल बीमा प्राधिकरणको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ ।
बीमा उद्योग अहिले डिजिटल रूपान्तरण, नयाँ बीमा उत्पादन, साइबर तथा जलवायुजन्य जोखिम व्यवस्थापनजस्ता चुनौतीको चरणमा रहेकाले नेतृत्व रिक्तताले दीर्घकालीन रणनीतिक निर्णय, लगानी व्यवस्थापन र व्यवसाय विस्तार प्रभावित हुने सरोकारवालाहरु बताउँछन् । नेतृत्व अभावमा एकातिर कम्पनीको दैनिक प्रशासन, वित्तीय निर्णय र रणनीतिक काम प्रभावित भएको छ भने अर्कातिर लामो समयसम्म संस्था नेतृत्वविहीन हुँदा लगानीकर्ताको विश्वास र बीमितको भरोसामा समेत असर पर्ने चेतावनी दिइएको छ ।


