Banijya News

कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी, विदेशी लगानीलाई बन्देज

1
1.1K Shares

नेपालमा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न अब २५ लाख रुपैयाँ धरौटी राख्नु अनिवार्य गरिएको छ । मन्त्रिपरिषद्को बैठकले बुधबार ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्रका लागि नयाँ र कडा व्यवस्थाहरू लागू भएका हुन् ।

नयाँ नियमावली अनुसार अब नेपालमा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न २५ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ । मुख्य कार्यालयका लागि मात्र नभई शाखा विस्तार गर्दा पनि प्रति शाखा थप २५ लाख रुपैयाँ नै धरौटी राख्नुपर्ने नियमावलीमा उल्लेख भएको जनाइएको छ ।

मन्त्रालयबाट आधिकारिक रूपमा अनुमतिपत्र प्राप्त गरेपछि मात्र यो सेवा सञ्चालन गर्न पाइनेछ भने अनुमति पाएको तीन महिनाभित्र अनिवार्य रूपमा सेवा सुरु गरिसक्नुपर्ने प्रावधान नियमावलीमा समेटिएको छ । नयाँ व्यवस्था अनुसार शैक्षिक परामर्श संस्था सञ्चालनका लागि अनुमति तथा नवीकरण दस्तुर ५० हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, शाखा विस्तारको अनुमति र नवीकरणका लागि प्रति शाखा २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । अनुमतिपत्रको अवधि एक वर्षको मात्र हुनेछ । तोकिएको समयभित्र नवीकरण नगरेमा १० हजार रुपैयाँ जरिबाना तिरेर थप तीन महिनाभित्र नवीकरण गर्न सकिने व्यवस्था छ । सो अवधिमा पनि नवीकरण नगरिएमा अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

यसका साथै शैक्षिक मेला, प्रदर्शनी, सेमिनार वा प्रतिनिधि भेटघाट जस्ता कार्यक्रमहरू आयोजना गर्नका लागि मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ, जसले गर्दा बिनाअनुमति यस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । विद्यार्थीको हित र उत्तरदायित्वलाई मध्यनजर गर्दै नियमावलीमा कडा क्षतिपूर्तिको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

विदेशमा विद्यार्थी अलपत्र परेमा, गलत परामर्शका कारण समस्या उत्पन्न भएमा वा कलेज अवैध ठहरिएमा त्यसको पूर्ण क्षतिपूर्ति सम्बन्धित कन्सल्टेन्सीले नै व्यहोर्नुपर्नेछ । पारदर्शिताका लागि विद्यार्थीबाट लिइने सम्पूर्ण सेवा शुल्क सार्वजनिक गर्नुपर्नेछ र सो विवरण नागरिक बडापत्र तथा संस्थाको वेबसाइटमा अनिवार्य रूपमा अद्यावधिक राख्नुपर्नेछ ।

यसैगरी, विद्यार्थीले विदेशी शिक्षण संस्थालाई बुझाउने शुल्क केवल बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, कन्सल्टेन्सीले विदेश गएका विद्यार्थीको अध्ययन अवधिभरको विवरण राख्नुका साथै आवश्यक परामर्श उपलब्ध गराइरहनुपर्नेछ ।

सरकारले शैक्षिक परामर्शदाताको न्यूनतम योग्यता र लगानीका सन्दर्भमा पनि नयाँ मापदण्ड तोकेको छ । अब परामर्शदाताको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण र सम्बन्धित तालिम प्राप्त गरेको हुनुपर्नेछ । यदि विदेशी नागरिकलाई परामर्शदाताका रूपमा राख्नुपरेमा प्रचलित कानुनबमोजिम अनुमति लिनु आवश्यक हुनेछ ।

यो व्यवसाय सञ्चालनका लागि स्वदेशी लगानी मात्र रहने व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका विदेशी लगानी भएका परामर्श संस्थाहरूले यो नियमावली लागू भएको एक वर्षभित्र आफ्नो स्वामित्व परिवर्तन गरी स्वदेशी लगानीमा रूपान्तरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।

1

Scroll to Top