Banijya News

विदेशी शैक्षिक कार्यक्रममा थप कडाइ, शीर्ष हजारका विश्वविद्यालयसँग मात्रै सम्बन्धन लिन निर्देशन

1
1.1K Shares

सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा सञ्चालन हुने कलेजका लागि थप कडा मापदण्ड लागू गरेको छ । अब नेपालमा सम्बन्धन दिन चाहने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने प्रावधान तोकिएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गर्दै विदेशी सम्बन्धनमा सञ्चालन हुने उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र जवाफदेही बनाउने व्यवस्था गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार, अब नेपालमा सम्बन्धन दिन चाहने विदेशी विश्वविद्यालयहरु विगत पाँच वर्षको अवधिमा अन्तर्राष्ट्रिय र्‍याङ्किङमा निरन्तर सूचीकृत भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

नियमावलीले सम्बन्धन प्राप्त कलेजका लागि क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (क्यूएए) को दुई चरणको प्रक्रिया अनिवार्य गरेको छ । यसले शैक्षिक गुणस्तर मापन र संस्थागत क्षमता मूल्यांकनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको यो नियमावली उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय विश्वसनीयता कायम गर्ने तथा विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमलाई प्रभावकारी नियमन गर्ने उद्देश्यले ल्याइएको बताइएको छ ।

त्यसो त, कलेजहरूले पनि अब आफूखुसी विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता, प्रयोगशाला, जनशक्ति तथा अन्य आवश्यक स्रोत–साधनको मूल्यांकनका आधारमा मात्रै विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था नियमावलीमा गरिएको छ ।

सरकारले नयाँ मापदण्ड आगामी दिनमा स्थापना हुने कलेजमा मात्र नभई हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा पनि लागू गर्ने निर्णय गरेको छ । नियमावलीअनुसार, तोकिएका मापदण्ड पूरा नगर्ने कलेजलाई सुधारका लागि निश्चित समय प्रदान गरिनेछ । तोकिएको अवधिमा पनि मापदण्ड पूरा नभए सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने व्यवस्था गरिएको छ ।

1

Scroll to Top