पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु भएको छ । यी दुई संस्था एक आपसमा गाभिएर आज शुक्रबारदेखि एउटै संस्थाका रुपमा कारोबार सुरू गरेका हुन् ।
दुवै संस्थाको सञ्चालक समितिको निर्णय र नियामक निकायको स्वीकृतिपश्चात् अब यी दुई संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा सञ्चालन हुनेछन् ।
आवश्यक नियामकीय प्रक्रिया पूरा भएसँगै नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि एकीकृत कारोबार सुरु गरिएको बताइएको छ ।
मर्जरपश्चात् साबिकका दुवै संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्था (पोखरा फाइनान्स लिमिटेड) मा सर्ने सूचनामा उल्लेख छ । यसअघिको समृद्धि फाइनान्सका सम्पूर्ण सम्पत्ति, दायित्व, कर्जा, निक्षेप तथा अन्य कानुनी जिम्मेवारी अब पोखरा फाइनान्सले नै वहन गर्नेछ ।
संयुक्त संस्थाको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित कार्यालयबाट सञ्चालन हुनेछ । मर्जर कार्यान्वयनसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै संस्थाको सेयर कारोबार अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको छ ।


