चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म लुम्बिनी प्रदेश सरकारले आफ्नो कुल बजेटको ६७.१८ प्रतिशत मात्र खर्च गर्न सकेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार कुल ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटमध्ये यस अवधिमा २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो।
यस अन्तर्गत चालुतर्फ विनियोजित १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७।७६ प्रतिशत बजेट उपयोग भएको छ। त्यस्तै, विकास निर्माणसँग जोडिएको पुँजीगततर्फ भने २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये ६६.८० प्रतिशत अर्थात् १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ मात्र खर्च हुन सकेको देखिन्छ।
मन्त्रालयगत खर्चको विवरण हेर्दा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ। यस मन्त्रालयले कुल ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँ बजेटमध्ये ७९.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। यसैगरी, वन तथा वातावरण मन्त्रालयले ७१।३२ प्रतिशत, सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.८८ प्रतिशत र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ७०.७२ प्रतिशत बजेट कार्यान्वयन गरेका छन्। प्रदेश लोक सेवा आयोगले ६६.१५ प्रतिशत प्रगति हासिल गर्दा यसको पुँजीगत खर्च भने १७४.५४ प्रतिशत पुगेको छ। यसबाहेक सहरी विकास तथा खानेपानी मन्त्रालयले ६४.६२ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ६१.१८ प्रतिशत, प्रदेशसभाले ६०.५१ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ५७.२९ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ५७.१० प्रतिशत बजेट खर्च गरेका छन्।
बजेट खर्चमा केही मन्त्रालय र उच्च निकायहरूको प्रदर्शन भने निकै कमजोर देखिएको छ। युवा तथा खेलकुद मन्त्रालयको खर्च ४४.८१ प्रतिशतमा सीमित रहँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४४.५० प्रतिशत मात्र प्रगति गरेको छ। त्यस्तै, प्रदेश योजना आयोगले ३८.४४ प्रतिशत र आर्थिक मामिला तथा योजना मन्त्रालयले ३८.१२ प्रतिशत खर्च गरेका छन् भने सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३६.५७ प्रतिशत मात्र बजेट उपयोग गर्न सकेको छ। मन्त्रालयहरूको खर्च सुस्त रहे पनि स्थानीय तहतर्फको बजेट हस्तान्तरण र कार्यान्वयनको अवस्था भने निकै उत्साहजनक छ, जहाँ विनियोजित ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये ८४.८७ प्रतिशत रकम खर्च भइसकेको छ।


