गणेश नेपालीको आत्मदाहको घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ । यो केवल एक व्यक्तिको दुःखद मृत्यु मात्र होइन, राज्य, समाज र हाम्रो प्रशासनिक संरचनामाथि उठेको गम्भीर प्रश्न पनि हो । कुनै पनि नागरिक आफ्नो पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउन बाध्य हुन्छ भने त्यो घटनालाई सामान्य व्यक्तिगत निर्णयका रूपमा हेर्न मिल्दैन । यस्तो घटना राज्यप्रतिको विश्वास कमजोर हुनु, न्यायको पहुँच कठिन हुनु, सामाजिक–आर्थिक असुरक्षा बढ्नु र नागरिकले आफूलाई पूर्ण रूपमा असहाय महसुस गर्नुजस्ता गहिरा समस्याको संकेत हो ।
यस्ता घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउनु भन्दा पनि यसले दिएको सन्देशलाई गम्भीर रुपमा बुझ्नु आवश्यक छ । दोष कसको हो भन्ने प्रश्न महत्त्वपूर्ण अवश्य छ, तर त्योभन्दा पनि ठूलो प्रश्न भनेको यस्तो अवस्था नै किन सिर्जना भयो भन्ने हो । यदि हामीले कारण पहिचान गर्न सकेनौँ भने भविष्यमा यस्ता घटनाहरु दोहोरिन सक्ने खतरा रहिरहन्छ ।
गणेश नेपालीको आत्मदाहले देशमा बढ्दै गएको कुशासन, प्रशासनिक उदासीनता, नागरिकप्रतिको अनुत्तरदायित्व र राज्य सञ्चालनको कमजोरी उजागर गरेको छन् । नागरिकका गुनासा समयमै सुनुवाइ हुने, न्याय प्राप्त गर्ने सहज व्यवस्था हुने र प्रशासन संवेदनशील हुने हो भने कुनै पनि नागरिक यस्तो चरम कदम चाल्न बाध्य हुँदैन ।
यद्यपि, यस्तो घटनालाई केवल सरकार वा कुनै एक मन्त्रीमाथि मात्र दोष थोपरेर समाधान खोज्न सकिँदैन । राज्य सञ्चालनमा सरकारको प्रमुख जिम्मेवारी अवश्य हुन्छ, तर राज्य भनेको सरकार मात्र होइन । प्रशासनिक निकाय, सुरक्षा संयन्त्र, न्याय प्रणाली, स्थानीय सरकार, राजनीतिक दल, सामाजिक संस्था र सम्पूर्ण समाज पनि राज्यका महत्वपूर्ण अंग हुन् । त्यसैले जिम्मेवारी पनि सामूहिक रूपमा खोजिनुपर्छ । अस्पताल पु¥याईएका नेपालीलाई ४ घण्टा सम्म उपचार प्रकृया अगाडि नबढाएको भन्ने आरोप आफन्तले लगाएका छन् । आखिर बास्तिवकता के हो ? किन यस्तो आरोप लाग्यो ? अर्को तर्फ गृहमन्त्री सुधन गुरुङले महानगरले मोटरसाइकलमा लक लगाइएको भएकाले स्थानिय सरकार र महानगरपालिक यसको जबाफदेही हुनुपर्ने बताएका छन् । के यस घटनामा केन्द्र सरकार देषी छैन् त ? गृहमन्त्री यही शैलीमा प्रस्तुत भएर जिम्मेवारी अरुलाई पन्छाएर देशमा सुसासन आउँछ त ? यस बारेमा पनि सरोकारवालाले ध्यान दिनुपर्छ ।
यस घटनामा मोटरसाइकलमा लक लगाउँदा महानगर प्रहरी कर्मचारीको मोवाइल फूटेको सम्बाद पनि सुनिन्छ ? लक लगाउँदा कसरी मोवाइलको लक फुटो त ? यसमा महानगरपालिकाको कर्मचारीको मोवाइल सरक्षण गर्न नसक्ने असक्षमता हो की मोवाइल फुटेको बहानामा नेपालीसँग गरिएको नगदको बल्याकमेलिङ ? यस घटनामा शुरुको कारण पनि खोजिनु आवश्यक छ ।
नेपालमा लामो समयदेखि नागरिकले भोग्दै आएका समस्याहरू नयाँ होइनन् । बेरोजगारी, अवसरको अभाव, महँगी, भ्रष्टाचार, ढिलासुस्ती, सेवाप्रवाहमा झन्झट, राजनीतिक अस्थिरता र विकासको असमान वितरणले धेरै नागरिकमा निराशा बढाएको छ । विशेषगरी युवाहरूले आफ्नो भविष्यप्रति आशा भन्दा बढी अन्योल महसुस गरिरहेका छन् । शिक्षित भएर पनि रोजगारी नपाउने, सीप भएर पनि अवसर नपाउने, आफ्ना समस्या लिएर सरकारी कार्यालय धाउँदा सुनुवाइ नहुने अवस्था धेरैका लागि दैनिक यथार्थ बनेको छ ।
यस्ता परिस्थितिले मानिसको मानसिक अवस्थामाथि गहिरो प्रभाव पार्छ । मानिस जन्मजात कमजोर हुँदैन; तर लगातारको आर्थिक दबाब, सामाजिक असुरक्षा, पारिवारिक जिम्मेवारी र राज्यबाट सहयोग नपाएको अनुभूतिले उसको आत्मविश्वास कमजोर बनाउँदै लैजान्छ । अन्ततः कतिपय व्यक्तिले आफूलाई पूर्ण रूपमा एक्लो र निराश महसुस गर्न थाल्छन् । त्यसैले “मैले सकिन“ भन्ने भावना धेरै अवस्थामा व्यक्तिगत कमजोरी मात्र होइन, सामाजिक–आर्थिक संरचनाको असफलताको परिणाम पनि हुन सक्छ ।
यसै कारण मानसिक स्वास्थ्यलाई केवल मनोपरामर्शसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । मनोपरामर्श आवश्यक छ, तर नागरिकको आधारभूत आवश्यकता नै पूरा नभएको अवस्थामा त्यो मात्रै पर्याप्त समाधान बन्न सक्दैन । स्थिर रोजगारी, सम्मानजनक आम्दानी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र न्यायमा समान पहुँचले मानिसलाई जीवनप्रति आशावादी बनाउँछ । जब नागरिकलाई राज्यले साथ दिएको अनुभूति हुन्छ, तब उनीहरू समस्यासँग लड्ने शक्ति पनि प्राप्त गर्छन् ।
गणेश नेपालीको घटनापछि धेरैले मृतकको परिवारलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । यो मानवीय दायित्व पनि हो । परिवारले भोगेको पीडा कुनै शब्दले कम गर्न सक्दैन । राज्यले आवश्यक आर्थिक सहयोग, मनोसामाजिक परामर्श र दीर्घकालीन संरक्षणको व्यवस्था गर्नुपर्छ । तर सहयोगको दायरा यतिमै सीमित हुनु हुँदैन । अझ महत्त्वपूर्ण कुरा भनेको गणेश नेपाली किन यस्तो अवस्थामा पुगे भन्ने तथ्यपरक अनुसन्धान हुनु हो । यदि वास्तविक कारण पहिचान गरिएन भने भविष्यमा फेरि अर्को कुनै नागरिक पनि यस्तै अवस्थासम्म पुग्न सक्छ ।
यस घटनाले हामी सबैलाई केही कठिन प्रश्न सोध्न बाध्य बनाएको छ । एउटा युवा किन आफ्ना समस्या सुनाउने कुनै प्रभावकारी माध्यम नपाएर आफ्नै शरीरमा आगो लगाउन बाध्य हुन्छ ? राज्यका निकायले किन समयमै उसको आवाज सुन्न सकेन् ? किन नागरिकले न्याय र सहयोगको अपेक्षा राज्यबाट गर्न छोड्दै जान्छ ? किन प्रशासन नागरिकको सेवक बन्नुका सट्टा कतिपय अवस्थामा नागरिकका लागि थप बोझ बन्न पुग्छ ? यी प्रश्नहरूको उत्तर खोज्नु आजको आवश्यकता हो ।
राज्यले अब केही स्पष्ट सुधारका कदम चाल्नैपर्छ । पहिलो, सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र छिटो सुनुवाइको व्यवस्था हुनुपर्छ । नागरिकका गुनासाहरू समयमै सम्बोधन गर्ने प्रभावकारी संयन्त्र विकास गरिनुपर्छ । दोस्रो, युवालाई रोजगारी सिर्जना गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र सीप विकाससँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । तेस्रो, मानसिक स्वास्थ्य सेवा देशभर सहज रूपमा उपलब्ध गराइनुपर्छ, जहाँ आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि निःशुल्क वा सहुलियतमा सेवा पाउन सकून् । चौथो, सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै संकटमा परेका नागरिकलाई तत्काल राहत र दीर्घकालीन सहयोग उपलब्ध गराउने व्यवस्था आवश्यक छ ।
त्यसैगरी, राजनीतिक नेतृत्वले पनि आफ्ना प्राथमिकता पुनः समीक्षा गर्नुपर्ने समय आएको छ । नागरिकका दैनिक समस्या समाधान गर्नु कुनै राजनीतिक नारा मात्र होइन, राज्यको मूल दायित्व हो । विकासका ठूला योजना घोषणा गर्नु महत्त्वपूर्ण भएपनि नागरिकले दैनिक जीवनमा न्याय, सुरक्षा, रोजगारी र सम्मान महसुस गर्न सकेनन् भने ती योजनाको अर्थ सीमित हुन्छ ।
समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । परिवार, छिमेक, विद्यालय, कार्यस्थल र समुदायले समस्यामा परेका व्यक्तिलाई एक्लो महसुस हुन नदिने वातावरण बनाउनुपर्छ । कसैको व्यवहारमा असामान्य परिवर्तन देखिएमा समयमै संवाद गर्ने, सहयोग गर्ने र आवश्यक परे सम्बन्धित सेवासम्म पु¥याउने संस्कृतिको विकास हुनुपर्छ । संवेदनशील समाजले धेरै दुःखद घटनालाई समयमै रोक्न सक्छ ।
गणेश नेपालीको आत्मदाहलाई केवल एउटा समाचार बनाएर बिर्सिनु हुँदैन । यसलाई राज्य सञ्चालन, सुशासन, सामाजिक न्याय, आर्थिक अवसर र नागरिकप्रतिको उत्तरदायित्वका विषयमा गम्भीर आत्मचिन्तन गर्ने अवसरका रूपमा लिनुपर्छ । दोष कसको थियो भन्ने बहसभन्दा पनि भविष्यमा अर्को कुनै नागरिकले यस्तै चरम निर्णय लिन नपर्ने वातावरण कसरी निर्माण गर्ने भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण हो ।
गणेश नेपालीलाई सच्चा श्रद्धाञ्जली भनेको केवल श्रद्धाञ्जली सभा आयोजना गर्नु वा परिवारलाई केही आर्थिक सहयोग गर्नु मात्र होइन । उनको घटनाबाट पाठ सिकेर राज्यलाई थप उत्तरदायी बनाउनु, प्रशासनलाई नागरिकमैत्री बनाउनु, युवालाई आशा दिने नीति ल्याउनु, रोजगारीका अवसर विस्तार गर्नु, आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु र प्रत्येक नागरिकले राज्यप्रति भरोसा गर्न सक्ने वातावरण निर्माण गर्नु नै वास्तविक श्रद्धाञ्जली हुनेछ । जब राज्यले नागरिकको आवाज समयमै सुन्छ, न्याय दिन्छ, सम्मानपूर्वक बाँच्ने आधार सिर्जना गर्छ र संकटमा साथ दिन्छ, तब मात्रै यस्ता दुःखद घटनाको पुनरावृत्ति रोक्न सकिन्छ ।


