परम्परागत गहना व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा औपचारिक रूपमा भित्र्याएको छ। आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त यो सफ्टवेयर यसअघि नै काठमाडौँका २०० भन्दा बढी कम्पनीहरूमा सफलतापूर्वक प्रयोग भइसकेको छ।
यसको औपचारिक शुभारम्भ गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियाली र गण्डकी प्रदेश अध्यक्ष चन्द्र किशोर गौतमले बद्लिँदो समयअनुसार यो सफ्टवेयर व्यवसायीहरूका लागि समयको बचत गर्ने र प्रविधिमा फड्को मार्ने उत्तम माध्यम भएको उल्लेख गरेका छन ।
यस सफ्टवेयरमा ज्वेलरी व्यवसायलाई आवश्यक पर्ने सम्पूर्ण डिजिटल सुविधाहरू समावेश गरिएको छ, जसले लेखा सम्बन्धी काम, ग्राहकको अर्डर व्यवस्थापन, र खरिद(बिक्रीको विवरण राख्न निकै सहज बनाउँछ। कम्पनीका सीईओ देवराज घिमिरे र म्यानेजर रोशन कडरियाका अनुसार यसमा तौल मापनका लागि ग्राम र तोला दुवै एकाइको व्यवस्था हुनुका साथै स्टक चुस्त राख्न र छिटो भुक्तानीका लागि बारकोड बिलिङको विशेष सुविधा छ।
उच्च गोपनीयता र डाटा सुरक्षाको ग्यारेन्टी गरिएको यो सफ्टवेयर व्यवसायीहरूका लागि वार्षिक ३० हजारदेखि ९० हजार रुपैयाँसम्मका विभिन्न प्याकेजहरूमा उपलब्ध छ भने यसको नवीकरण शुल्क (रिन्युअल्स) छुट्टै लाग्ने जानकारी कम्पनीका गण्डकी प्रतिनिधि अपिल विश्वकर्माले दिएका छन ।


