प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएकै दिन (गत चैत १३ गते) जारी गरिएको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ र फागुन २१ को निर्वाचनबाट आएका ६ वटा राष्ट्रिय मान्यताप्राप्त दलहरूको घोषणापत्रलाई समेटेर सरकारले १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ।
यही असार १८ गते मन्त्रिपरिषद्बाट स्वीकृत यस प्रतिबद्धताका कतिपय एजेन्डाहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेका छन् भने बाँकी विषयलाई भविष्यको सुधार योजनामा समेटिँदै लगिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यस राष्ट्रिय प्रतिबद्धताको बुँदा नम्बर २ मा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’ लाई विशेष प्राथमिकता दिइएको छ। जसअन्तर्गत वास्तविक किसान पहिचानका लागि ‘किसान परिचयपत्र’ वितरण गरिनेछ र त्यसकै आधारमा मात्र राज्यबाट दिइने अनुदान, सहुलियत ऋण, सेवा-सुविधा र सामाजिक सुरक्षा उपलब्ध गराइनेछ। कृषि पेसालाई सुरक्षित र सम्मानजनक बनाउन योगदानमा आधारित ‘किसान पेन्सन’ योजना लागू गर्नुका साथै किसान क्रेडिट कार्ड, कृषि बीमा र सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने प्रतिबद्धता सरकारको छ।
कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउन र आयात प्रतिस्थापन गर्न भारतसँगको व्यापार सम्झौता र भन्सार नीतिमा आवश्यक कानुनी सुधार गरिनेछ। सरकारले कृषि उद्यम तथा उद्योगहरूलाई आकर्षित गर्न विशेष कर छुट, भन्सार सहुलियत र लगानी प्रोत्साहनका प्याकेजहरू ल्याउने घोषणा गरेको छ। यसका साथै, भूउपयोग योजनाको पुनरावलोकन गरी बाँझो जमिन उपयोगमा ल्याउन चक्लाबन्दी तथा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।
दीर्घकालीन रूपमा कृषिको उत्पादकत्व बढाउन निजी क्षेत्रसँगको सहकार्यमा देशभित्रै रासायनिक मल कारखाना स्थापना गरिनेछ, जसका लागि सरकारले विशेष विद्युत् आपूर्तिको ग्यारेन्टी गर्नेछ। तत्कालका लागि मल खरिदको वार्षिक क्यालेन्डर बनाएर वितरण प्रणाली सहज बनाइनेछ। रैथाने र स्वदेशी बिउबिजन संरक्षणका लागि प्रत्येक स्थानीय तहमा ‘सामुदायिक बीउ बैंक’ स्थापना गरिनेछ, जसले साना, भूमिहीन र सीमान्तकृत किसानलाई आर्थिक अनुदान र गुणस्तरीय बजार सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।
भौगोलिक बनोटका आधारमा पहाडी र हिमाली क्षेत्रमा उच्च मूल्यका नगदेबाली, जडीबुटी तथा फलफूल प्रशोधन उद्योगहरू स्थापना गरी विशेष कर छुट दिइनेछ। हुलाकी र मध्यपहाडी लोकमार्ग आसपास व्यावसायिक ‘कृषि-खाद्य प्रशोधन करिडोर’ विकास गरिनेछ। उत्पादन लागत घटाउन, जैविक प्रविधिको विस्तार गर्न र माटोको उर्वरा शक्ति बचाउन जलवायु अनुकूलन कार्यक्रम चलाइनेछ। आगामी ५ वर्षभित्र तीन लाख हेक्टर थप कृषियोग्य जमिनमा सिँचाइ पुर्याउन राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू समयमै सम्पन्न गर्ने सरकारको लक्ष्य छ।


