Banijya News

कोसी अस्पतालको जग्गामा चल्यो डोजर

1
1.1K Shares

विराटनगर वडा नं. ७ मा रहेको कोसी अस्पतालले आफ्नो स्वामित्वको जग्गा अतिक्रमणमुक्त गराउने अभियान सुरु गरेको छ। सोमबार प्रहरी प्रशासनको बाक्लो उपस्थिति र तीनवटा डोजरको प्रयोग गरी अस्पतालको जग्गामा अवैध रूपमा निर्माण गरिएका ३२ वटा व्यावसायिक सटरहरू भत्काइएका छन्। यद्यपि, सटरहरू भत्काइए पनि त्यहाँ रहेका मुख्य भौतिक संरचनाहरूमा भने कुनै पनि क्षति नपुर्‍याइएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रलाल झाका अनुसार नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले अनधिकृत रूपमा भाडामा लगाएका सटरहरूलाई मात्रै लक्षित गरी भत्काइएको हो। यसरी खाली गराइएको करिब १० कट्ठा जग्गालाई अब अस्पतालको बृहत् गुरुयोजना अनुसार व्यवस्थित रूपमा घेराबेरा गर्ने तयारी अस्पतालले थालेको छ।

यसअघि अस्पताल प्रशासनले असार ५ गते नै १५ दिने सूचना जारी गर्दै ती संरचनाहरू आफैं हटाउन आग्रह गरे पनि जग्गा खाली गरिएको थिएन। त्यसपछि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरी संरचना हटाउन सात दिनको अन्तिम समयसीमा (अल्टिमेटम) दिएका थिए। मन्त्रीहरूको सोही निर्देशन र चेतावनीपछि अस्पतालले प्रहरीको सहयोगमा यो कडा कदम चालेको हो।

1

Scroll to Top