Banijya News

शेयर धितो कर्जा साढे २६ प्रतिशतले बढ्यो तर बजारमा छैन रौनक

1
1.0K Shares

पछिल्लो समयमा बैंकिङ प्रणालीबाट शेयर धितो कर्जा विस्तार तीव्र गतिमा भइरहेको पाइएको छ । तैपनि, सोहीअनुरुप पूँजीबजारमा नयाँ लगानीको प्रवाह भने देखिएको छैन । शेयर धितो कर्जा बढ्दै जाँदा सामान्यतः बजारमा खरिद क्षमता विस्तार हुने र त्यसले शेयर कारोबार तथा सूचकमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिन्छ । तर पछिल्ला महिनाहरूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा त्यस्तो प्रत्यक्ष प्रभाव देखिएको छैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार, जेठ मसान्तसम्म शेयर धितोमा प्रवाह भएको कर्जा १ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५९ प्रतिशतले बढी हो । गत वर्षको ११ महिनासम्म यस्तो कर्जा १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ मात्र भएको थियो ।

यसले बैंकिङ प्रणालीबाट शेयर धितो कर्जा विस्तार तीव्र गतिमा भइरहेको देखाए पनि बैंकबाट प्रवाह भएको सम्पूर्ण कर्जा शेयर खरिदमा प्रयोग नभएको देखिन्छ । यसले बैंकबाट प्रवाह भएको शेयर धितो कर्जा अन्य व्यक्तिगत वा व्यावसायिक प्रयोजनमा गएको हुन सक्ने संकेत गरेको छ । लगानीकर्ताले शेयर धितोमा लिएको रकम बजारमा पुनः लगानी गर्नुभन्दा अन्य वित्तीय दायित्व व्यवस्थापन, व्यवसाय विस्तार वा व्यक्तिगत खर्चमा प्रयोग गरिरहेको अनुमान कतिपयको रहेको छ ।

शेयर धितो कर्जा बढे पनि पछिल्ला महिनाहरूमा नेप्से परिसूचक अपेक्षाकृत सुस्त रहँदै आएको छ भने दैनिक कारोबार रकम पनि निरन्तर खुम्चिएको अवस्था छ । त्यसो त, चैत १३ गते गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारबाट आर्थिक सुधार, पूँजीबजारमैत्री नीति तथा लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको थियो । तर, सरकार गठनपछि पनि बजारले स्पष्ट सकारात्मक दिशा लिन नसक्दा लगानीकर्ताको मनोबल कमजोर बनेको अवस्था छ ।

नीतिगत स्पष्टता, पूँजीबजार सुधारका कार्यक्रम र लगानीमैत्री निर्णयहरू अपेक्षित गतिमा अघि नबढ्दा बजारमा नयाँ उत्साह सिर्जना हुन सकेको छैन । उता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान तीव्र बनाएपछि बजारमा मनोवैज्ञानिक दबाब झन् बढेको छ ।

अनुसन्धानलाई नियामकीय प्रणाली सुदृढ बनाउने प्रयासका रूपमा हेरिए पनि केही लगानीकर्ताले त्यसलाई जोखिमको संकेतका रूपमा लिएका छन् । परिणामस्वरूप ठूलो रकम भएका लगानीकर्तासमेत पर्ख र हेरको अवस्थामा रहेका छन् । साना लगानीकर्ता मात्र सक्रिय रहँदा कारोबार खुम्चन गई बजारले अपेक्षाकृत उचाइ लिन सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाले आफ्ना आन्तरिक नीतिअनुसार सूचीकृत शेयरलाई धितो स्वीकार गरी कर्जा प्रवाह गर्ने व्यवस्था छ । लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको शेयर वा भविष्यमा खरिद गरिने शेयरका आधारमा समेत कर्जा लिन सक्ने भए पनि उक्त रकम अनिवार्य रूपमा शेयर बजारमै लगानी गर्नुपर्ने कानुनी व्यवस्था छैन । यही कारण शेयर धितो कर्जाको वृद्धिलाई बजारमा नयाँ पूँजी प्रवेशको प्रत्यक्ष सूचकका रूपमा लिन कठिन हुने विश्लेषण गरिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा १५ बैंक तथा वित्तीय संस्थाको शेयर धितोकर्जा घटेको छ भने ३२ वटाको वृद्धि भएको छ । सर्वाधिक शेयर धितो कर्जा दिनेमा नबिल बैंक रहेको छ । बैंकको शेयर धितोकर्जा १६.२९ प्रतिशतले बढेर १७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा ग्लोबल आइएमई बैंकको शेयर धितोकर्जा पनि उल्लेख्य वृद्धि भएको छ । ग्लोबल आइएमई बैंकको २५.३१ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड पुगेको छ । त्यस्तै, कुमारी बैंकको १०.१५ प्रतिशतले बढेर १० अर्ब ४४ करोड पुग्दा प्राइम बैंकको २०.६४ प्रतिशतले बढेर ९ अर्ब ८५ करोड पुगेको छ ।

यसैगरी, लक्ष्मी सनराइज बैंकको ५४ प्रतिशतले बढेर ९ अर्ब ५० करोड पुगेको छ भने कृषि विकास बैंकको १४२ प्रतिशतले बढेर ८ अर्ब ६४ करोड र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशतले बढेर ८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा सबैभन्दा कम शेयर धितो कर्जा मल्टिप्रपोज फाइनान्सबाट भएको छ । उक्त संस्थाले ५५ लाख मात्र शेयर धितो कर्जा प्रवाह गरेको छ । त्यस्तै, नेपाल शेयर मार्केटले २ करोड ६१ लख र पोखरा फाइनान्सले २ करोड ७१ लाख शेयर धितोकर्जा प्रवाह गरेका छन् ।

1

Scroll to Top