नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थालाई निर्देशनमार्फत लागू गर्दै निर्माण व्यवसायीहरूको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा ल्याएको छ। यस व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको अनुरोध, आवश्यकता र औचित्यका साथै नगदप्रवाहको विस्तृत विश्लेषण गरेर मात्र कर्जा पुनर्संरचना गर्न सक्नेछन्। यो सुविधा उपयोग गर्न ऋणीले बुझाउनुपर्ने कुल ब्याजको कम्तीमा १० प्रतिशत रकम अनिवार्य रूपमा चुक्ता गरेको हुनुपर्ने सर्त राखिएको छ।
यो सुविधा सबै निर्माण व्यवसायीले नभई सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको काम सम्पन्न गरिसकेका वा निर्माण कार्य भइरहेकाहरूले मात्र पाउनेछन्। यसका लागि व्यवसायीहरूले सार्वजनिक निकायबाट रकम भुक्तानी पाउन बाँकी रहेको स्पष्ट खुलाउने आधिकारिक कागजात बैंकमा पेस गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्ने सम्पूर्ण प्रक्रिया २०८३ असोज मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।
यसरी नयाँ व्यवस्थाअनुसार पुनर्संरचना वा पुनर्तालिकीकरण गरिएका कर्जाहरूको हकमा बैंकहरूले न्यूनतम ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) कायम गर्नुपर्नेछ। तर, यो निर्देशन जारी हुनुअघि नै निष्क्रिय वर्ग (खराब कर्जा) मा वर्गीकरण भइसकेका कर्जाको हकमा भने पुरानै नियम लागू हुनेछ। त्यस्ता निष्क्रिय कर्जालाई साविककै वर्गीकरणमा राखेर सोही बमोजिमको नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।


