Banijya News

सुशासन र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने छ : अर्थमन्त्री वाग्ले

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै उच्च राजनीतिक पदाधिकारी जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने बताउँदै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबैले सार्वजनिक जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै राजनीतिक दल, सम्बन्धित नेतृत्व र नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले मंगलबार आयोजित सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको कार्यसम्पादन परिणाममुखी, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए। बजेट कार्यान्वयन केवल आर्थिक व्यवस्थापनको विषय नभई सुशासन र जनविश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले सबै निकायले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने उनले बताए।

उनका अनुसार सरकारले भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’को नीति अपनाएको छ र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न कुनै प्रकारको सम्झौता गरिने छैन। सार्वजनिक स्रोत र साधनको उपयोग पारदर्शी ढंगले हुनुपर्ने तथा राज्य संयन्त्रका सबै तहमा इमानदारी र नैतिकताको संस्कार विकास गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

अर्थमन्त्री वाग्लेले सरकारको सफलताको आधार केवल नीति निर्माणमा नभई त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै सचिव तथा उच्च प्रशासनिक नेतृत्वलाई बजेट कार्यान्वयनमा विशेष सक्रियता देखाउन आग्रह गरे। उनले विकास आयोजना, सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनमा सुधार ल्याउन प्रशासनिक संयन्त्रको भूमिका निर्णायक हुने बताए।

छलफलका क्रममा उनले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उल्लेख गरे। नीति निर्माण गर्ने राजनीतिक नेतृत्व र त्यसलाई कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्रले एउटै लक्ष्यका साथ काम गरेमा मात्र नागरिकले अपेक्षा गरेको परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो।

वाग्लेले विगतमा देखिएका प्रशासनिक कमजोरी, ढिलासुस्ती, अनियमितता र संस्थागत विकृतिलाई क्रमशः अन्त्य गर्दै नयाँ कार्यसंस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याए। सुशासनलाई संस्थागत बनाउन पारदर्शिता, जिम्मेवारीबोध र परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

उनले इमानदार र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अघि बढाउने बताए। कार्यकुशल कर्मचारीको मनोबल उच्च बनाउन आवश्यक प्रोत्साहन उपलब्ध गराउने र राम्रो कामको मूल्याङ्कन गर्ने व्यवस्था सुदृढ गरिने उनले संकेत गरे। यसबाट कर्मचारीतन्त्रमा सकारात्मक प्रतिस्पर्धा बढ्ने र सेवा प्रवाहको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे।

अर्थमन्त्रीका अनुसार सरकारको लक्ष्य केवल बजेट खर्च गर्नु मात्र नभई त्यसबाट जनताले प्रत्यक्ष लाभ महसुस गर्ने वातावरण सिर्जना गर्नु हो। त्यसका लागि प्रत्येक मन्त्रालयले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर समयमै योजना कार्यान्वयन गर्नुपर्ने उनले बताए। बजेट कार्यान्वयनमा हुने ढिलाइ, स्रोतको दुरुपयोग र कमजोर समन्वयले विकासको गति प्रभावित हुने भएकाले त्यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न सबै निकाय सजग हुनुपर्ने उनको भनाइ थियो।

छलफलमा उनले सार्वजनिक प्रशासनलाई अझ जिम्मेवार, उत्तरदायी र सेवा–मुखी बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको दोहोर्याए। नागरिकको विश्वास कायम राख्न सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कडा नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन सफल बनाउन मन्त्रालयहरूबीच समन्वय, स्पष्ट कार्ययोजना, नियमित अनुगमन तथा नतिजामुखी कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै सबै सचिवलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न आग्रह गरे। उनका अनुसार सरकारको विश्वसनीयता र जनअपेक्षा पूरा गर्ने आधार प्रभावकारी कार्यसम्पादन, वित्तीय अनुशासन र जवाफदेहितामै निर्भर रहनेछ।

1

Scroll to Top