Banijya News

प्रमसँगको भेटपछि तयारी पोसाक उद्योगी उत्साहित, टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न निर्देशन

1
1.0K Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूबीच आज मंगलबार मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रको समस्या समाधानका विषयमा विस्तृत छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रम शाह र उद्योगीहरुबीच भएको सो भेटघाटमा प्रधानमन्त्रीले उद्योगीहरूका समस्या सुन्ने मात्र नभई समाधानका लागि तत्कालै सम्बन्धित निकायलाई टेलिफोनमार्फत निर्देशनसमेत दिएका छन् । छलफलमा सहभागी संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगको भेटघाटका क्रममा गार्मेन्ट क्षेत्रका समस्या र सम्भावनाबारे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री शाहले उद्योगीहरूकै अगाडि उद्योग मन्त्री र उद्योग सचिवलाई फोन गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तारका लागि सरकारले आवश्यक सबै प्रकारको सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएका हुन् । प्रम शाहले स्वदेशमै उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवद्र्धनलाई प्राथमिकता दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन निर्देशनसमेत दिएका छन् ।

संघका पदाधिकारीले राखेको मागअनुसार प्रधानमन्त्री शाहले काउन्सिल गठनका लागि सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका हुन् । यसबाट स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन, निर्यात प्रवद्र्धन तथा आयात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका रुग्ण तयारी पोसाक उद्योगहरू तत्काल सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई आवश्यक पहल गर्न पनि निर्देशन दिएका छन् ।

साथै, प्रम शाहले निःशुल्क व्यापार सम्झौता (एफटीए) विस्तार, वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने वातावरण निर्माण तथा अमेरिकामा ‘टेस्टिङ सर्टिफिकेसन’ अभावका कारण रोकिएका तयारी पोसाकलगायत नेपाली वस्तुको निर्यात सहज बनाउन परराष्ट्र मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

त्यसैगरी, ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ अवधारणालाई सफल बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन् ।

छलफलका क्रममा उद्योगीहरूले ‘ग्रिन गार्मेन्ट भिलेज’ परियोजनाका लागि बजेट विनियोजन नभएको गुनासो गरेपछि प्रधानमन्त्री शाहले उपयुक्त स्थानमा जग्गा पहिचान गर्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन् । यस्तै, चोरी पैठारी नियन्त्रण गर्ने र टेक्सटायल सम्बन्धी प्राविधिक शिक्षालय वा विश्वविद्यालयको विकासमा पनि सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै, प्रम शाहले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न तयारी पोसाक उद्योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योगले भोगिरहेका समस्याको समाधान तथा आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने क्षमता विकासमा सरकार लागिपर्ने आश्वासन दिएका छन् ।

1

Scroll to Top