बेलायतमा सत्ता परिवर्तनसँगै नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले सरकारको नेतृत्व सम्हाल्दै पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। पदभार ग्रहण गरेको केही घण्टामै उनले मन्त्रिपरिषद्को पुनर्गठन, आर्थिक राहतका कार्यक्रम तथा अन्तर्राष्ट्रिय कूटनीतिक संवादलाई तीव्रता दिँदै नयाँ सरकारको प्राथमिकता स्पष्ट पारेका छन्।
बर्नहमले निवर्तमान प्रधानमन्त्री कियर स्टार्मरको मन्त्रिपरिषद्मा व्यापक फेरबदल गर्दै जोन हिलीलाई अर्थमन्त्री तथा एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्। नयाँ टोलीलाई सम्बोधन गर्दै उनले आर्थिक स्थिरता, सार्वजनिक सेवाको सुधार, ऊर्जा सुरक्षाको सुनिश्चितता र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने कार्यलाई सरकारको प्रमुख प्राथमिकता हुने बताएका छन्।
प्रधानमन्त्री बनेलगत्तै ५६ वर्षीय बर्नहमले अन्तर्राष्ट्रिय नेताहरूसँग कूटनीतिक संवाद पनि सुरु गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्दै व्यापार, सुरक्षा सहयोग तथा युक्रेनको वर्तमान अवस्थाबारे छलफल गरेका हुन्। ट्रम्पले वार्तापछि दुई देशबीच व्यापारिक साझेदारी र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको बताएका छन्।
यता जर्मनीले पनि नयाँ सरकारलाई स्वागत गरेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्नहमलाई बधाई दिँदै बेलायत–जर्मनी सम्बन्धलाई थप मजबुत बनाउने, ‘केन्सिङ्टन सन्धि’लाई अगाडि बढाउने तथा युक्रेनप्रतिको साझा समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। जर्मनीका परराष्ट्रमन्त्री योहान वाडेफुलले बेलायत, जर्मनी र फ्रान्स सम्मिलित ‘ई–३’ कूटनीतिक संयन्त्र युक्रेन युद्ध र इरानसँग सम्बन्धित अन्तर्राष्ट्रिय मुद्दा समाधानका लागि अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
नयाँ सरकारको सबैभन्दा चर्चित निर्णय भने ऊर्जा क्षेत्रमा आएको छ। प्रधानमन्त्री बर्नहमले सर्वसाधारणलाई राहत दिने उद्देश्यले बिजुलीको बिलमा लाग्दै आएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा हटाउने घोषणा गरेका छन्। आगामी अक्टोबर १ देखि लागू हुने यस व्यवस्थाबाट प्रत्येक परिवारले औसतमा वार्षिक करिब ४५ पाउन्ड बचत गर्ने सरकारको अनुमान छ।
सरकारका अनुसार यो कार्यक्रम सञ्चालन गर्न करिब ८५० मिलियन पाउन्ड खर्च हुनेछ। आवश्यक स्रोत व्यवस्थापन गर्न अघिल्लो सरकारले अघि बढाएको डिजिटल आईडी परियोजना रद्द गरिएको छ। उक्त परियोजनामा वार्षिक करिब ६०० मिलियन पाउन्ड खर्च हुने अनुमान गरिएको थियो। सरकारले अनावश्यक खर्च कटौती गरी प्रत्यक्ष रूपमा नागरिकलाई राहत दिने नीति अपनाएको जनाएको छ।
अर्थमन्त्री जोन हिलीले बिजुलीमा लाग्ने कर हटाउने निर्णयले मुद्रास्फीति नियन्त्रण, घरायसी खर्च कम गर्न तथा विशेषगरी जाडो मौसममा नागरिकलाई आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले यो सुविधा हालका लागि बिजुलीको प्रयोगमा मात्र लागू हुने र ग्यासमा भने यथावत् कर लाग्ने स्पष्ट पारे।


