सरकारले काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीलाई आफ्नै गृहजिल्लामा फर्काउने तयारी थालेको छ । यसका लागि सम्बन्धित लाभग्राहीलाई आफ्नो स्थायी ठेगाना रहेको जिल्लाको स्थानीय तह तथा जिल्ला समितिमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।
सरकारले गत वैशाख ११ गतेदेखि नदी किनारको अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै नदी किनारमा बसेका सुकुम्बासीलाई डोजर लाएर हटाएको थियो । त्यस क्रममा प्रभावित सुकुम्बासीलाई पहिलो चरणमा सरकारी होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो
होल्डिङ सेन्टरमा रहेका ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति विवरणको छानबिन गरिएको थियो । छानबिनका क्रममा देशभर कतै पनि घरजग्गा नभेटिएका २९ परिवारको नाम सार्वजनिक गर्दै ‘भूमि समस्या समाधान समिति’ले उनीहरूलाई स्थायी ठेगाना रहेको जिल्लाको पालिका तथा जिल्ला समितिमा सम्पर्क गर्न आग्रह गरेको हो ।
समितिले सार्वजनिक गरेको सूचीमा सम्बन्धित परिवार हाल बसिरहेको होल्डिङ सेन्टर र उनीहरूको स्थायी ठेगानासमेत उल्लेख गरिएको छ । यो प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असार २९ गतेको निर्णयअनुसार अघि बढाइएको समितिले जनाएको छ ।
समितिका अनुसार, लाभग्राही परिवारको नाममा देशभर घरजग्गा रहे–नरहेको विषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट विवरण मागिएको थियो । विभागबाट प्राप्त जवाफअनुसार, २९ परिवारको नाममा कुनै घरजग्गा नभेटिएको पुष्टि भएको छ ।
समितिले स्वीकृत कार्यविधिअनुसार ती लाभग्राहीलाई स्थायी ठेगाना रहेको जिल्लामा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन आवश्यक कागजातसहितको फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकेको जनाएको छ । समितिले सम्बन्धित सबै लाभग्राहीलाई आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित जिल्ला समिति र स्थानीय तहमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।


