नेपालको वैदेशिक रोजगारी क्षेत्रमा श्रमिकले म्यानपावर कम्पनीलाई बुझाउने सेवा शुल्कको विषय पुनः तीव्र बहसको केन्द्र बनेको छ। सरकारले अहिलेको १० हजार रुपैयाँको सेवा शुल्कलाई पुनरावलोकन गर्न अध्ययन समिति गठन गरेपछि म्यानपावर व्यवसायीहरू उत्साहित भएका छन्। वर्षौंदेखि लागू गरिएको १० हजार रुपैयाँको शुल्कले कार्यालय सञ्चालन र जनशक्ति व्यवस्थापन खर्चसमेत नधान्ने भन्दै व्यवसायीहरूले कम्तीमा एक महिनाको तलब बराबरको सेवा शुल्क पाउनुपर्ने माग गर्दै आएका छन्।
यसअघि २०७२ सालमा लागू गरिएको ‘फ्री भिसा, फ्री टिकट’ नीतिको मर्म अनुसार व्यवसायीले थप शुल्क लिन नपाउने व्यवस्था भए पनि त्यो व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेको थिएन। नयाँ शुल्क तोक्ने सरकारको तयारीप्रति श्रम तथा आप्रवासन क्षेत्रका विज्ञहरूले भने गम्भीर प्रश्न उठाएका छन्। विगत १२ वर्षदेखि कानुनी रूपमा १० हजार रुपैयाँको सीमा तोकिए पनि व्यवहारमा श्रमिकहरू १ देखि ३ लाख रुपैयाँसम्म तिर्न बाध्य भइरहेका छन्। नियमन र कार्यान्वयनको संयन्त्र कमजोर भएसम्म सेवा शुल्क बढाउँदैमा अतिरिक्त असुली रोकिन्छ भन्ने कुनै ग्यारेन्टी नहुने विज्ञहरूको तर्क छ।
शुल्कको वैधानिक सीमा बढाउँदा म्यानपावरहरूले त्यसलाई कानुनी रूपमा उठाउने र टिकट, स्वास्थ्य परीक्षण, बीमा तथा तालिमका नाममा थप रकम असुल्ने जोखिम उस्तै रहन्छ। त्यसैले, अन्तर्राष्ट्रिय अभ्यास अनुसार सम्पूर्ण भर्ती खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने ९इम्प्लोयर पे मोडल० व्यवस्थाका लागि कूटनीतिक पहल गर्नु नै यसको दीर्घकालीन समाधान मानिएको छ।
अर्कोतर्फ, म्यानपावर व्यवसायीहरू भने हालको अव्यावहारिक शुल्ककै कारण वैदेशिक रोजगारी क्षेत्रमा बेथिति बढेको दाबी गर्छन्। उचित सेवा शुल्क तोकेर सम्पूर्ण प्रक्रियालाई प्रविधिसँग जोड्न सके अतिरिक्त रकम नियन्त्रण हुने उनीहरूको भनाइ छ। व्यवसायीहरूका अनुसार प्रत्येक देशका लागि लाग्ने लागत शीर्षक र सेवा शुल्क स्पष्ट रूपमा सार्वजनिक गरिनुपर्छ। साथै, ‘श्रम संसार’ जस्ता डिजिटल पोर्टलमार्फत आवेदनदेखि भुक्तानीसम्मका सबै प्रक्रिया निगरानीमा ल्याउने, नगदरहित (क्यासलेस) बैंकिङ प्रणाली लागू गर्ने र एकद्वार प्रणालीमार्फत कारोबार गर्ने हो भने अनौपचारिक रूपमा लिइने बढी शुल्क स्वतः नियन्त्रणमा आउने उनीहरूको तर्क छ।
वैदेशिक रोजगारीमा श्रमिकमाथि पर्ने आर्थिक भार कम गर्न ठोस र व्यवहारिक नीतिको आवश्यकता छ। विगतमा जस्तै केवल कागजमा मात्र नयाँ शुल्क तोक्ने र कार्यान्वयनमा ध्यान नदिने हो भने शुल्क बढाएर ५० हजार वा एक महिनाको तलब बराबर पुर्याए पनि श्रमिकहरू अतिरिक्त रकम बुझाउन बाध्य भइरहनेछन्। त्यसैले, नयाँ शुल्क तोक्नुका साथै सम्पूर्ण डिजिटल भुक्तानी प्रणाली लागू गर्ने, आचारसंहिता र सेवा अडिटलाई कडा बनाउने तथा कानुन विपरीत बढी शुल्क असुल्ने व्यवसायीलाई राज्यले कडा कारबाही गर्ने दरिलो संयन्त्र निर्माण गर्नु नै अहिलेको मुख्य आवश्यकता हो।


