Banijya News

मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा

1
1.1K Shares

सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित फर्जी कागजातलाई अवैध घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितसँग साहुले तयार गरेका नक्कली तथा फर्जी लिखतलाई अवैध मान्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साहुले फर्जी कागजातका आधारमा रकम असुल्ने गरेको गुनासोपछि यस्तो निर्णय गरिएको जानकारी दिए ।

मिटरब्याज पीडितले साहुले झुटा लिखत तयार गरी अनुचित रूपमा रकम असुलिरहेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

मन्त्रिपरिषद् बैठकले सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच भएको सम्झौता पनि अनुमोदन गरेको छ । सरकारी वार्ता समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच गत साउन १ गते सहमति भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘अनुचित लेनदेनबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न गठित समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने तथा सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने ।’

1

Scroll to Top