Banijya News

आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी, चिकित्सा शिक्षा सुधारलाई मुख्य एजेन्डा

1
1.1K Shares

चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका पक्षमा लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २४औँ आमरण अनसन बिहीबारदेखि कैलालीको धनगढीमा सुरु गर्ने भएका छन्। दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा उनी सत्याग्रहमा बस्ने कार्यक्रम तय गरिएको छ। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको, बारम्बार उठाइएका मागलाई बेवास्ता गरिएको र सुधारका प्रतिबद्धता कार्यान्वयनमा सरकारले उदासीनता देखाएको भन्दै उनले पुनः आन्दोलनको बाटो रोजेका हुन्।

डा. केसीले यसअघि सरकारले आफ्ना मागबारे छलफल र सम्बोधनका लागि साउन ५ गतेसम्मको समय मागेको स्मरण गराउँदै त्यस अवधिसम्म पनि कुनै ठोस निर्णय वा कार्यान्वयन प्रक्रिया अघि नबढेको बताएका छन्। सरकारबाट सकारात्मक संकेत नआएपछि सत्याग्रहबाहेक अर्को विकल्प नरहेको निष्कर्षमा आफू पुगेको उनको भनाइ छ।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार निर्धारित समयसीमाभित्र सरकारले कुनै प्रभावकारी पहल नगरेकाले आन्दोलन सुरु गर्नुपर्ने अवस्था सिर्जना भएको हो। सत्याग्रहअघि डा. केसी सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा थिए। गत शुक्रबारदेखि उनले कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पुगेर स्थानीय नागरिक, स्वास्थ्यकर्मी, विद्यार्थी र सरोकारवालासँग छलफल गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा देखिएका चुनौतीबारे धारणा लिएका थिए। यस भ्रमणका क्रममा नागरिकबाट पनि स्वास्थ्य सेवामा सुधार, चिकित्सकको अभाव र सरकारी प्रतिबद्धता कार्यान्वयनमा ढिलाइप्रति व्यापक असन्तुष्टि व्यक्त भएको बताइएको छ।

बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमा डा. केसीले नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासन सुनिश्चित गर्न आफूले विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरेका छन्। उनले सरकार आफ्नो दायित्वबाट पछि हट्दा पुनः अनसनमा बस्न बाध्य भएको भन्दै आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनी दिएका छन्।

यसपटकको सत्याग्रहमा चिकित्सा शिक्षा क्षेत्रका नीतिगत निर्णय र नियुक्ति प्रक्रियालाई प्रमुख एजेन्डा बनाइएको छ। उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानुन र निर्धारित मापदण्डविपरीत गरिएको भनिएका नियुक्तिहरू तत्काल खारेज गर्न, सम्बन्धित ऐनका विवादित प्रावधान संशोधन गर्न तथा नियुक्ति प्रक्रियामा हुने राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्व अन्त्य गर्न माग गरेका छन्। साथै, चिकित्सा शिक्षालाई पहुँच, पारदर्शिता र गुणस्तरतर्फ उन्मुख बनाउने नीति अवलम्बन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

1

Scroll to Top