प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज विहीबार छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे छलफल हुने कार्यक्रम रहेको छ ।
छलफलमा वरिष्ठ चिया उद्यमी एवम् नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बाँस्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी रहने छन् ।
यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवद्र्धन गर्ने संस्था हो । प्रधानमन्त्री बालेनसँगको भेटमा चिया उद्योगीहरूले भोग्दै आएको समस्या र समाधानका उपायबारे छलफल गरिने उद्योगीहरूले बताएका छन् ।
साथै, चिया किसान, चिया कारखाना र चियाको बजारमा विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री बालेनलाई अनुरोध गर्ने बुझिएको छ ।
पछिल्लो समय भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध बनेको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द भएका थिए । पछि प्रधानमन्त्री बालेनले समस्या समाधानका लागि पहल गरेसँगै चिया निर्यातले निरन्तरता पाएको थियो । प्रधानमन्त्री बालेनसँगको भेटमा उद्योगी व्यापारीहरूले यो विषयसँगै अन्य समस्या र समाधानका उपायहरू प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवद्र्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरी उनीहरूका जायज माग सम्बोधन गर्दै आएका छन् ।


