Banijya News

चिया उद्योगको संकट समाधान खोज्दै प्रधानमन्त्री बालेन, उद्योगीसँग आज उच्चस्तरीय छलफल

1
1.1K Shares

नेपालको चिया उद्योगले पछिल्ला वर्षहरूमा निर्यात अवरोध, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, गुणस्तर प्रमाणीकरण र उत्पादन लागत वृद्धि जस्ता चुनौती सामना गरिरहेका बेला प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटमा उद्योगीहरूले भोगिरहेका समस्या, सरकारी नीतिगत सुधार, निर्यात प्रवर्द्धन र उद्योगको दीर्घकालीन विकासका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार छलफलमा चिया उत्पादन, प्रशोधन, ब्रान्डिङ, अन्तर्राष्ट्रिय बजार विस्तार तथा निर्यात प्रक्रियामा देखिएका जटिलताबारे उद्योगीहरूले प्रत्यक्ष रूपमा आफ्ना धारणा राख्नेछन्। सरकारले निजी क्षेत्रका समस्या प्रत्यक्ष सुनेर समाधानको पहल गर्ने उद्देश्यले विभिन्न व्यवसायिक क्षेत्रसँग संवादलाई निरन्तरता दिएको र सोही अभियानअन्तर्गत चिया उद्योगीहरूसँग छलफल हुन लागेको हो।

आजको छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका प्रमुख चिया उत्पादक कम्पनी तथा संस्थाका अध्यक्ष र प्रतिनिधिहरू सहभागी हुनेछन्। संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य छलफलमा  सहभागी रहने छन् । उनीहरूले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने उपाय, उत्पादनको गुणस्तर अभिवृद्धि, अर्गानिक चियाको प्रवर्द्धन तथा सरकारी सहजीकरणका विषयमा सुझाव दिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले पछिल्ला केही सातायता विभिन्न व्यवसायिक संघ–संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग नियमित भेटवार्ता गर्दै आएका छन्। यसअघि उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, तयारी पोसाक उद्योग संघ, सेयर लगानीकर्ता तथा हस्तकला महासंघका प्रतिनिधिहरूसँग पनि छलफल गरिसकेका छन्। यी भेटघाटमार्फत उद्योग, व्यापार, लगानी, उत्पादन र रोजगारीसँग सम्बन्धित समस्या बुझ्ने तथा निजी क्षेत्रसँग प्रत्यक्ष संवाद बढाउने प्रयास भइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ।

यद्यपि, यी अधिकांश छलफलमा अर्थमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई सहभागी नगरिएको विषयले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा पनि पाएको छ। केही विश्लेषकहरूले सम्बन्धित मन्त्रालयको प्रत्यक्ष सहभागिता भए कार्यान्वयन पक्ष अझ प्रभावकारी बन्न सक्ने धारणा राखेका छन् भने प्रधानमन्त्री निकट स्रोतले प्रारम्भिक चरणमा समस्या पहिचान र सुझाव संकलनमा केन्द्रित रहेकाले प्रत्यक्ष संवादलाई प्राथमिकता दिइएको जनाएको छ।

छलफलको मुख्य एजेन्डामध्ये नेपाली चिया निर्यातमा देखिएको पछिल्लो अवरोध पनि रहनेछ। नेपालको ठूलो परिमाणमा उत्पादन हुने चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार व्यवस्था र गुणस्तर परीक्षण प्रक्रियाले नेपाली चिया उद्योगलाई प्रत्यक्ष असर पार्ने गरेको छ। हालै भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण नेपाली चियाको निर्यात करिब दुई महिनासम्म अवरुद्ध हुँदा इलाम, झापा लगायतका प्रमुख चिया उत्पादन जिल्लाका दर्जनौं उद्योग सञ्चालनमा समस्या आएको थियो। निर्यात ठप्प भएपछि किसानले हरियो पत्तीको उचित मूल्य नपाउनुका साथै हजारौं श्रमिकको रोजगारीसमेत प्रभावित भएको थियो।

1

Scroll to Top