अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा हुने भेटघाटलाई थप व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणसँगको भेटका लागि निश्चित समय तालिका लागू गरेका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार अबदेखि हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेटघाटका लागि समय छुट्याइएको छ। मन्त्रालयमा अनावश्यक भीडभाड घटाउने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ।
भेटघाट गर्न इच्छुक व्यक्तिले अब अनिवार्य रूपमा सचिवालयले उपलब्ध गराएको क्युआर कोडमार्फत अग्रिम अपोइन्टमेन्ट लिनुपर्नेछ। आवेदन दिँदा भेटघाटको उद्देश्य वा छलफल गर्न चाहेको विषय स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। सचिवालयले पूर्वनिर्धारित समय तालिकाअनुसार मात्रै भेटघाट गराइने भएकाले सम्बन्धित सबैलाई सोही प्रक्रिया अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार डिजिटल माध्यमबाट अपोइन्टमेन्ट प्रणाली लागू गरिएपछि भेटघाट प्रक्रिया अझ व्यवस्थित हुने, समयको सदुपयोग हुने तथा सेवाग्राहीले अनावश्यक प्रतीक्षा गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।


