Banijya News

सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

1
1.1K Shares

प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल–भारतबीच कूटनीतिक संवादले नयाँ गति लिन थालेको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच राजनीतिक, सुरक्षा र द्विपक्षीय सहकार्यका विषयमा सकारात्मक वातावरण बनेको स्रोतहरूले बताएका छन्।

प्रधानमन्त्री कार्यालयसँग निकट स्रोतका अनुसार बेन र डोभालबीच भएको भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमण, नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने पहल, सीमा व्यवस्थापन, आर्थिक सहकार्य तथा सरकारको छिमेक नीतिबारे विस्तृत छलफल भएको थियो। सरकार गठनपछि प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गराउने विषयमा पनि दुवै पक्षबीच सकारात्मक समझदारी बनेको जनाइएको छ।

यद्यपि भ्रमणको औपचारिक मिति तय भइसकेको छैन, तर आगामी सेप्टेम्बरअघि नै प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने तयारी भइरहेको बताइएको छ। भ्रमणको कार्यसूची, उच्चस्तरीय भेटघाट र सम्भावित द्विपक्षीय सहमतिको विषयमा कूटनीतिक तहमा गृहकार्य भइरहेको स्रोतको भनाइ छ।

दिल्ली बसाइका क्रममा कुमार बेनले भारतको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारतबीचको विकास साझेदारी, ऊर्जा व्यापार, पूर्वाधार निर्माण, सीमा नाका व्यवस्थापन, लगानी विस्तार तथा आपसी हितका क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

दिल्ली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि बेनले प्रधानमन्त्री शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटवार्ताको निष्कर्षबारे विस्तृत जानकारी गराएका छन्। भ्रमणका क्रममा प्राप्त सन्देश, भारतीय पक्षको धारणा र आगामी कूटनीतिक रणनीतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइएको छ।

1

Scroll to Top