नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा नेपालबाट बाहिर जाने यात्रुले ५ हजार अमेरिकी डलरसम्म नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी ल्याउन वा लैजान सक्ने व्यवस्था पुनः स्पष्ट गरेको छ
राष्ट्र बैंकको सूचनाअनुसार विदेशी विनिमय ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम नेपाली तथा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सक्नेछन् । सोभन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, नेपाली र भारतीय नागरिकले भारु २५ हजारसम्म नगद भारतीय रुपैयाँ ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ अघि चलनचल्तीमा रहेका भारु ५०० र १००० दरका नोटको कारोबार गर्न भने पूर्ण प्रतिबन्ध कायम रहनेछ । सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म प्रचलित व्यवस्था अनुसार ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन् ।
राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि पुनः स्मरण गराएको छ ।


