नेपालको निर्यात व्यापारमा देखिएका समस्या समाधान र व्यापार घाटा कम गर्ने उपायबारे परामर्श गर्न प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख निर्यातजन्य उद्योगव्यवसायका प्रतिनिधिहरूसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे आयोजना गरिएको उक्त बैठकमा गलैँचा, प्लाइउड, पश्मिना तथा डग च्यु (छुर्पी) लगायत देशका प्रमुख निर्यात क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहनेछ।
छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, उद्यमी देवानन्द सरावगी र नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेल सहभागी हुने कार्यक्रम छ।
विशेष गरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले खेल्नुपर्ने भूमिका, भोग्नुपरेका व्यावहारिक चुनौती र आवश्यक नीतिगत सुधारका विषयमा प्रधानमन्त्री शाहले उद्योगीहरूसँग प्रत्यक्ष सुझाव लिनेछन्। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादनमुखी दिशामा अघि बढाउन प्रधानमन्त्रीले पछिल्लो समय निजी क्षेत्र र सरोकारवालाहरूसँग गरिरहेको निरन्तर संवादकै एउटा महत्त्वपूर्ण शृङ्खलाका रूपमा यस बैठकलाई हेरिएको छ।


