Banijya News

आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा परराष्ट्र मन्त्री खनालको जोड

1
1.1K Shares

नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण हुने परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन् । काठमाडौंमा मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औं वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री खनाले सो कुरा बताएका हुन् ।

मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न वाणिज्यदूतहरुलाई आग्रह गरेका छन् । खासगरी नेपालमा आवासीय कूटनीतिक नियोगहरू नभएका मुलुकहरूसँगको व्यावसायिक, सांस्कृतिक र संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूले पुर्‍याएको योगदानको मन्त्री खनालले प्रशंसा गरे । साथै, वाणिज्यदूतहरूलाई नेपालको राष्ट्रिय प्राथमिकता र आकांक्षाहरूसँग एकाकार हुँदै द्विपक्षीय साझेदारी सुदृढ तुल्याउन सुझाव दिएका छन् ।

परराष्ट्र मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा र कानुनी ढाँचाहरूको समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै मन्त्री खनालले युवा पुस्ताको आकांक्षा र जनमतबाट प्राप्त वर्तमान सरकारको म्यान्डेट सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गरे । परराष्ट्र मन्त्रालय र अन्य सम्बद्ध निकायहरू नेपालको आर्थिक कूटनीति अघि बढाउन र आर्थिक साझेदारीलाई गहिरो बनाउन वाणिज्यदूतहरूसँग निकट रहेर सहकार्य गर्न उत्सुक रहेको उनले बताए । भ्रष्टाचार निर्मूल गर्दै पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै सरकारको पहिलो वर्ष कानुनी र संस्थागत सुधारमा केन्द्रित हुने उनको भनाइ थियो ।

मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने बताए । साथै, विश्वव्यापी भू–राजनीतिक र प्राविधिक परिवर्तनको समयमा अवैतनिक वाणिज्यदूतहरूको अन्तर्दृष्टि र संलग्नता थप मूल्यवान् हुने विश्वास व्यक्त गरेका छन् ।

1

Scroll to Top