Banijya News

सरकारको नीतिगत निर्णयले वैदेशिक रोजगार संकटमा, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

1
1.1K Shares

वैदेशिक रोजगार व्यवसायीले फ्रि भिसा–फ्रि टिकट नीतिको पुनरावलोकन लगायतका विभिन्न माग राख्दै सरकारलाई १५ दिनको अल्टिमेटम दिएका छन् । तोकिएको समयमा माग सम्बोधन नभए वा बेवास्ता गरे देशभरका म्यानपावर कम्पनीको सेवा पूर्ण रुपमा बन्द गरी चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिहीबार बृहत् व्यवसायी भेला डाकेर सरकारलाई तत्काल संवाद र समाधानको प्रक्रियामा आउन पनि आग्रह गरेको छ । पछिल्ला दिनमा सरकारले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विषयमा गरेका नीतिगत निर्णय र प्रशासनिक गतिविधिले व्यवसाय सञ्चालनमा जटिलता पैदा गरेको संघले जनाएको छ । तसर्थ, व्यवसायीमाथि कानुनी प्रक्रिया र स्थापित अभ्यासभन्दा बाहिर गएर सरकारले कारबाही गरेको आरोप लगाउँदै संघले त्यस्ता निर्णय तत्काल सच्याउन माग गरेको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार, वैदेशिक रोजगार क्षेत्रलाई समस्या समाधानभन्दा पनि नियन्त्रण र कारबाहीको दृष्टिले हेर्ने सरकारी प्रवृत्तिबाट व्यवसायी निराश बनेका छन् । समस्या समाधानका लागि उठाइँदै आएका माग अझै सम्बोधन नभएको भन्दै खत्रीले अब पनि बेवास्ता गरिए आन्दोलनमा जानुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनको पक्षमा नभए पनि व्यवसाय नै संकटमा पर्ने अवस्था सिर्जना भएपछि दबाबमूलक कार्यक्रम घोषणा गर्न बाध्य हुनुपरेको उनको भनाइ छ । उनले व्यवसायी र श्रमिक दुवै पक्षको हितका लागि २०७२ सालदेखि कार्यान्वयनमा रहेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिको व्यवहारिक पुनरावलोकन गर्न संघले माग गरिरहेको बताए । रोजगारदाताबाट सेवा शुल्क प्राप्त नहुने अवस्थामा कम्तीमा श्रमिकको एक महिनाको आधारभूत तलब बराबरको सेवा शुल्क लिन पाउने कानुनी व्यवस्था हुनुपर्ने अध्यक्ष खत्रीको तर्क छ ।

संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले वैदेशिक रोजगार क्षेत्र अहिले नीतिगत अन्योल र अव्यावहारिक व्यवस्थाको मारमा परेको बताए । उनले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन, सेवा शुल्कको वैज्ञानिक निर्धारण, श्रमिकको वास्तविक लागत खर्चको मापदण्ड तय, हवाई भाडादर समायोजन तथा बजारमा देखिएका एकाधिकार अन्त्य गर्न सरकारसँग माग गरे ।

त्यस्तै, संघका महासचिव हरि डाँगीले वैदेशिक रोजगार क्षेत्रलाई समस्याको स्रोतका रूपमा चित्रण गर्नु गलत भएको बताए । उनले लाखौं नेपालीलाई रोजगारी उपलब्ध गराउने र मुलुकमा ठूलो परिमाणमा विप्रेषण भित्र्याउने क्षेत्रमा नीति निर्माण गर्दा निजी क्षेत्रका सुझावलाई समेत समेट्नुपर्ने धारणा राखे । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि घोषणा गरिएको बिना धितो तथा सहुलियतपूर्ण कर्जा प्रभावकारी रूपमा कार्यान्वयन गर्न, सम्पूर्ण कारोबारलाई डिजिटल र क्यासलेस प्रणालीमा लैजान तथा सेवा प्रवाहलाई सहज बनाउने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यसैगरी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार, वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि सरकार र व्यवसायीबीच प्रभावकारी संवाद आवश्यक रहेको छ । उनले नीतिगत अस्थिरता र अव्यावहारिक निर्णयले व्यवसाय मात्र नभई वैदेशिक रोजगारीमा जाने श्रमिकसमेत प्रभावित हुने भएकाले सरकारले यथाशीघ्र व्यवसायीका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

1

Scroll to Top