Banijya News

सिमेन्ट निर्यातमा गिरावट, भारततर्फको निर्यात २ अर्ब ८३ करोडमा सीमित

1
1.1K Shares

नेपालमा सिमेन्ट उद्योगको आधार निकै बलियो रहेको छ । पछिल्लो समयमा सरकारले चुनढुंगा खानी सञ्चालनको अनुमति पाएपछि सिमेन्ट उद्योगलाई थप सहुलियत मिलेको छ । यसले उद्योगको उत्पादन लागत घटाउनुका साथै कच्चा पदार्थमा आत्मनिर्भर बनाएको छ । र, विगत केही वर्षयता नेपालबाट भारततर्फ सिमेन्ट निर्यात हुने गरेको छ ।

सिमेन्टमा उद्योगमा भएको ठूलो संरचनागत सुधारपछि निर्यातले तीव्र गति लिनुपर्ने अपेक्षा गरिएको थियो । तर, नीतिगत अस्थिरता, प्रशासनिक अवरोध र छिमेकी मुलुकका प्राविधिक मापदण्डसम्बन्धी समस्याले उद्योगलाई पछाडि धकेलिरहेको छ । पर्याप्त उत्पादन क्षमता, भारतमा बढ्दो माग र वार्षिक सय अर्ब रुपैयाँभन्दा बढीको निर्यात सम्भावना हुँदाहुँदै पनि नेपालको सिमेन्ट उद्योग अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।

गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट तथा क्लिंकर निर्यातमा गिरावट देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल २ अर्ब ८३ करोड ३९ लाख ५५ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात गरेको छ । यसमध्ये २ अर्ब ३ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको ९ लाख २३ हजार ३७६ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट भारत निर्यात भएको छ भने ७९ करोड ७८ लाख २६ हजार रुपैयाँ बराबरको ५ लाख ६१ हजार १२६ मेट्रिक टन क्लिंकर निर्यात भएको छ ।

पौने तीन अर्बभन्दा बढीको निर्यात भएको देखिए पनि यो अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले कुल २ अर्ब ९१ करोड ६७ लाख ९७ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । त्यति बेला २ अर्ब २१ करोड ९४ लाख १८ हजार रुपैयाँ बराबरको पोर्टल्यान्ड सिमेन्ट र ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो । त्यसको तुलनामा गत वर्ष निर्यात ८ करोड २८ लाख ४२ हजार रुपैयाँ अर्थात् २.८४ प्रतिशतले घटेको तथ्यांक छ ।

गत असार महिनामा मात्रै १९ करोड १८ लाख ९६ हजार रुपैयाँ बराबरको सिमेन्ट भारत निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको असारमा योभन्दा करिब ३ गुणाबढी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

पर्याप्त उत्पादन क्षमता र उच्च मागका बीच निर्यात घट्नुमा भारतको ब्युरो अफ इण्डियन स्ट्याण्डड्र्स (बीआईएस) नवीकरणमा भइरहेको ढिलाइ प्रमुख कारण मानिएको छ । त्यस्तै, सरकारले घोषणा गरेका प्रोत्साहन कार्यक्रम कार्यान्वयन नगर्नु, विद्युत् बक्यौता विवाद तथा कमजोर नीतिगत वातावरणका कारण नेपालको सिमेन्ट उद्योगले ठूलो धक्का खेप्नु परेको छ ।

भारतीय बजारमा नेपाली सिमेन्टको माग निरन्तर बढिरहेको उद्योगीहरू बताउँछन् । अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट र पाल्पा सिमेन्टजस्ता उद्योगहरूले भारतका सीमावर्ती बजारमा आफ्‌नो उपस्थिति विस्तार गरेका छन् । प्रतिस्पर्धी मूल्य, स्थानीय वितरण सञ्जाल विस्तार तथा भित्ते विज्ञापनमार्फत ब्रान्ड प्रवद्र्धन गरेर उनीहरूले उत्तर प्रदेश, बिहार र उत्तराखण्डलगायत सीमावर्ती क्षेत्रमा राम्रो बजार बनाएका छन् । तर, बजारको मागअनुसार अपेक्षाकृत निर्यात हुन सकेको छैन ।

उद्योगीहरूका अनुसार, भारतले नेपाली उद्योगहरूको बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाइ गरेको छ, जसले सिमेन्ट निर्यातमा प्रत्यक्ष असर पुर्याएको छ । भारतीय बजारमा सिमेन्ट बिक्री गर्न बीआईएस प्रमाणपत्र अनिवार्य हुन्छ । तर, उक्त प्रमाणपत्र समयमै नवीकरण नहुँदा धेरै उद्योगले उत्पादन भएर पनि निर्यात गर्न नसकेको गुनासो गर्दै आएका छन् । माग भएर पनि कागजी प्रक्रियाका कारण सिमेन्ट गोदाममै थन्किन बाध्य भएको अवस्था पटक–पटक सिर्जना भएको उद्योग व्यवसायीहरुको गुनासो छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुका अनुसार, अहिले भइरहेको निर्यात उद्योगको वास्तविक क्षमताको तुलनामा अत्यन्तै थोरै हो । नेपालसँग वार्षिक १०० अर्ब रुपैयाँभन्दा बढीको सिमेन्ट भारत निर्यात गर्ने क्षमता छ । तर, सरकारी सहयोगको अभाव, नीतिगत अस्पष्टता र विभिन्न प्रशासनिक अवरोधका कारण त्यो सम्भावना उपयोग हुन नसकेको मारुको भनाइ छ ।

नेपालसँग पर्याप्त कच्चा पदार्थ, उत्पादन क्षमता र भारतीय बजारको पहुँच हुँदाहुँदै पनि उद्योगले अवसर गुमाइरहेको उनी बताउँछन् । सरकारले निर्यातमुखी उद्योगलाई पाँचदेखि आठ प्रतिशतसम्म अनुदान उपलब्ध गराए निर्यातमा ठूलो छलाङ मार्न सकिने उनको तर्क छ ।

उद्योगीहरूले सरकारले निर्यात प्रवद्र्धनका लागि घोषणा गरेको अनुदान अहिलेसम्म व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएका छन् । आर्थिक वर्ष २०८१/८२ देखि निर्यात गर्ने उद्योगलाई प्रोत्साहनस्वरूप अनुदान दिने घोषणा गरिए पनि अधिकांश उद्योगले त्यसको लाभ पाउन नसकेको गुनासो छ ।

सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष ध्रुव थापाका अनुसार निर्यात भइरहेको भए पनि उद्योगले अपेक्षा गरेअनुसार गति लिन सकेको छैन । अहिले कतिपय उद्योगहरू आफ्‌नो कुल क्षमताको ३० देखि ३५ प्रतिशतमा मात्रै सञ्चालन भइरहेका छन् । उत्पादन क्षमता भएर पनि बजार विस्तार गर्न नसक्दा उद्योगको लागत बढिरहेको र लगानी जोखिममा परेको उनी बताउँछन् ।

आन्तरिक बजार पनि उद्योगका लागि त्यति उत्साहजनक नरहेको व्यवसायी बताउँछन् । सडक, पुल, जलविद्युत्, सरकारी भवन तथा पूर्वाधार आयोजनाको काम अपेक्षाअनुसार अघि बढ्न नसक्दा सिमेन्टको आन्तरिक माग पनि कमजोर बनेको छ । उद्योगीहरूका अनुसार सरकारले विकास निर्माणको गति बढाउन सके आन्तरिक बजार नै धेरै हदसम्म चलायमान हुन सक्थ्यो ।

भारतमा माग बढिरहेका बेला समेत नेपालले तेस्रो मुलुकमा निर्यात विस्तार गर्न नसकेको अवस्था छ । उद्योगीहरूका अनुसार बंगलादेशजस्ता सम्भावित बजारमा पुग्ने वातावरण अझै बनेको छैन । ढुवानी लागत, नीतिगत समस्या तथा व्यापार सहजीकरणको अभावले नेपाली सिमेन्ट सीमित बजारमै खुम्चिन बाध्य भएको छ । त्यसैले, सिमेन्ट निर्यातका लागि नेपालले भारतीय बजारमा मात्र निर्भर नभई तेस्रो मुलुकमा निर्यात गर्नतर्फ समेत योजना बनाउन अबेर गर्नु हुँदैन ।

1

Scroll to Top