Banijya News

बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याजदरमा निरन्तर गिरावट

1
1.1K Shares

नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) थुप्रिएका कारण ब्याजदर निरन्तर घट्दो क्रममा छ। अघिल्लो वर्षको तुलनामा ट्रेजरी बिल, अन्तरबैंक कारोबार, आधारदर, निक्षेप र कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट आएको छ।

वाणिज्य बैंकहरूको औसत आधारदर ६.०९ प्रतिशतबाट घटेर ४.८८ प्रतिशतमा झरेको छ भने औसत कर्जा ब्याजदर ७.९९ प्रतिशतबाट ६.६४ प्रतिशतमा ओर्लिएको छ। यसैगरी निक्षेपको ब्याजदर पनि घटेर ३.२९ प्रतिशतमा आइपुगेको छ। आधारदर घटेकाले नयाँ कर्जाका साथै पुराना कर्जाको ब्याजदरसमेत स्वतः सस्तो हुने वातावरण बनेको छ।

बैंकहरूमा निक्षेप सङ्कलन तीव्र रूपमा बढे पनि सोही अनुपातमा कर्जाको माग हुन सकेको छैन। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको निक्षेप करिब १५ प्रतिशतले बढेर ७४ खर्ब ९८ अर्ब रुपैयाँ समेत गरी कुल बैंकिङ निक्षेप ८२ खर्ब ९१ अर्ब नाघेको पुग्दा कर्जा प्रवाह भने केवल ६.३३ प्रतिशत (३ खर्ब १५ अर्ब) मा सीमित रह्यो। कुल निक्षेप सङ्कलनमा ग्लोबल आइएमई बैंक (७ खर्ब ४ करोड) र कर्जा लगानीमा नबिल बैंक (४ खर्ब ८७ अर्ब) पहिलो स्थानमा रहेका छन्। उता निक्षेप वृद्धिदरमा राष्ट्रिय वाणिज्य बैंक (३७.९९प्रतिशत) र कर्जा वृद्धिदरमा माछापुच्छ्रे बैंक १६.४६ प्रतिशत अगाडि देखिएका छन् भने प्रभु, एनआईसी एशिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह भने उल्टै घटेको छ।

सस्तो ब्याजदरका बाबजुद बजारमा आर्थिक गतिविधि सुस्त हुनु नै कर्जाको माग नबढ्नुको मुख्य कारण हो। अधिकांश उद्योगहरू पूर्ण क्षमतामा चल्न नसक्नु, उपभोक्ताको क्रयशक्ति घट्नु, र विगतमा धेरै ऋण जाने घरजग्गा तथा सेयर बजार सुस्त रहनुले नयाँ लगानीको वातावरण बन्न सकेको छैन। यसका साथै, निजी क्षेत्रमा लगानीको आत्मविश्वास नफर्किनु, सरकारी पुँजीगत खर्च कमजोर हुनु र बढ्दो खराब कर्जा ९एनपीएल० का कारण बैंकहरू आफैँ पनि ऋण प्रवाहमा बढी सतर्क हुनुले कर्जा विस्तार सुस्त बनाएको हो। अर्कोतर्फ रेमिट्यान्सको निरन्तर प्रवाहले गर्दा बैंकहरूमा निक्षेप भने थपिने क्रम जारी छ।

घट्दो ब्याजदरले उद्योगी–व्यवसायी र ऋणीहरूलाई राहत पुर्‍याए पनि बचतमा कम प्रतिफल पाइने हुँदा ब्याज आम्दानीमा निर्भर ज्येष्ठ नागरिक तथा संस्थागत निक्षेपकर्ता प्रभावित भएका छन्। हालको मुख्य समस्या तरलता वा पुँजीको अभाव नभई गुणस्तरीय कर्जाको माग नहुनु हो। केवल ब्याजदर घटाएर मात्र आर्थिक गतिविधि चलायमान हुन नसक्ने भएकाले निजी क्षेत्रको आत्मविश्वास जगाउनु अहिलेको प्रमुख चुनौती बनेको छ। आगामी दिनमा बजारमा कर्जाको माग बढाउन र समग्र अर्थतन्त्रलाई गति दिन सरकारले पुँजीगत खर्च बढाउने, नीतिगत स्थिरता कायम गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने देखिन्छ।

1

Scroll to Top