नेपालमा प्रविधिमा आधारित ढुवानी तथा आपूर्ति (लजिस्टिक्स) सेवा प्रदान गर्दै आएको ‘उपाय’GEMINIले पछिल्लो एक वर्षमा असाधारण व्यावसायिक सफलता हासिल गरेको छ। ई–कमर्स र डिजिटल बजारको बढ्दो मागलाई सम्बोधन गर्ने क्रममा कम्पनीको वार्षिक कारोबारमा ५४ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ।
सन् २०२० देखि सञ्चालनमा आएको उपायले आफ्नो सञ्जाललाई देशव्यापी बनाउँदै साना तथा मझौला उद्योग, खुद्रा व्यापारी र ठूला ई–कमर्स कम्पनीहरूलाई जोड्ने भरपर्दो माध्यमका रूपमा आफूलाई स्थापित गरेको छ। व्यावसायिक विस्तारसँगै कम्पनीले रोजगारी सिर्जना र जनशक्ति विकासमा ठूलो लगानी गरेको छ। गत वर्षसम्म ३८० को संख्यामा रहेका कर्मचारी हाल चार गुणाले बढेर १,५०० भन्दा बढी पुगेका छन्। यसका साथै डेलिभरी पार्टनर र स्थानीय सहयोगी सेवामार्फत थप ५ हजारभन्दा बढी मानिसले अप्रत्यक्ष रोजगारी पाएका छन्। कम्पनीले आफ्ना कर्मचारीहरूलाई नियमित तालिम, सुरक्षित कार्य वातावरण र व्यावसायिक अभिवृद्धिको अवसर दिँदै दक्ष जनशक्ति निर्माणमा जोड दिएको छ।
उपायले आफ्नो पहुँचलाई देशका ७७ वटै जिल्लामा पुर्याउँदै सेवा केन्द्रको संख्यामा व्यापक विस्तार गरेको छ। पहिले ४० वटा शाखाबाट सीमित सेवा दिँदै आएको कम्पनीले हाल ४०० भन्दा बढी सेवा केन्द्र र ५ हजारभन्दा बढी वितरण विन्दुहरू मार्फत सेवा दिइरहेको छ। सञ्जाल विस्तार भएसँगै केही वर्षअघिसम्म दैनिक १ हजार पार्सल व्यवस्थापन गर्ने उपायले हाल दैनिक औसत १५ हजारभन्दा बढी पार्सलहरू सफलतापूर्वक ग्राहकसम्म पुर्याइरहेको छ।
भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो कदम चाल्दै उपायले काभ्रेको साँगामा १८ रोपनी क्षेत्रफलमा नेपालकै पहिलो अत्याधुनिक ु३पीएलु (थर्ड पार्टी लजिस्टिक्स) वेयरहाउस निर्माण गरिरहेको छ। आगामी ६ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको करिब ४५ हजार वर्गफिटको यो संरचनाको कुल भण्डारण क्षमता १ लाख ४० हजार वर्गफिटभन्दा बढी हुनेछ। पेप्सीकोलास्थित हालको १८ हजार वर्गफिटको वेयरहाउसका अतिरिक्त साँगाको नयाँ संरचना सञ्चालनमा आएपछि भण्डारण, इन्भेन्ट्री व्यवस्थापन र प्याकेजिङका सम्पूर्ण काम एउटै छानामुनिबाट सम्भव हुनेछ।
आगामी दिनमा कम्पनीले केवल डेलिभरीमा मात्र सीमित नरही आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता को प्रयोगमार्फत नेपालको सम्पूर्ण आपूर्ति शृंखला लाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ। सेलर पोर्टल, रियल-टाइम ट्र्याकिङ र एयर कार्गो जस्ता डिजिटल सेवा सञ्चालन गरिरहेको उपायले पूर्वाधार र प्रविधिमा लगानी बढाउँदै नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रियस्तरको लजिस्टिक्स समाधान दिने प्रतिबद्धता जनाएको छ।


