उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
आज मंगलबार भएको उक्त भेटका क्रममा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ । साथै, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक फोरममार्फत भइरहेको सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा वर्तमान नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले दुई देशबीचको आर्थिक तथा औद्योगिक सहकार्य आगामी दिनमा अझ मजबुत हुने अपेक्षा राखेको बताएका छन् ।
सोही अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए । मन्त्री यादवले उक्त निमन्त्रणा स्वीकार गर्दै दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरिन् ।
भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालमा हाल बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा रहेको बताइन् । विशेषगरी हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव राखिन् ।
मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका प्रस्तावहरूमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


