चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडी (बीवाईडी) ले जापानमा पहिलोपटक विद्युतीय ‘केई मिनी कार’ बिक्री सुरु गरेको छ । जापानको घरेलु सवारी उद्योगले लामो समयदेखि प्रभुत्व जमाउँदै आएको विशेष प्रकारको सानो कार बजारमा विदेशी कम्पनीको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको छ ।
बीवाईडीले मंगलबार टोकियोमा आयोजित कार्यक्रममा पूर्ण विद्युतीय ‘र्याको’ ९र्याको० मिनी कार सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । कम्पनीले प्रतिस्पर्धी मूल्यसहितको यो मोडलमार्फत जापानी बजारमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य राखेको जनाएको छ ।
जापानमा ‘केई कार’ भनेर चिनिने साना सवारीसाधनहरू लामो समयदेखि स्थानीय कम्पनीहरूको बलियो पकडमा छन् । कम इन्धन खपत, सानो आकार र सहरी क्षेत्रमा सहज प्रयोगका कारण यी सवारीसाधन जापानी उपभोक्तामाझ लोकप्रिय छन् ।
तर, विद्युतीय सवारीसाधनको विस्तारसँगै यो क्षेत्रमा विदेशी कम्पनीहरूले पनि प्रवेश गर्न थालेका छन् । बीवाईडीले जापानको विशेष बजार आवश्यकतालाई ध्यानमा राख्दै विकास गरेको यो मोडलमार्फत स्थानीय उत्पादकहरूसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको हो ।
बीवाईडी जापानका उपाध्यक्ष तथा अध्यक्ष लिउ स्युएलियाङ र बीवाईडी अटो जापानका अध्यक्ष अत्सुकी तोफुकुजीले टोकियोमा आयोजित कार्यक्रममा नयाँ विद्युतीय मिनी कार सार्वजनिक गरेका थिए ।
विश्वकै ठूला विद्युतीय सवारीसाधन निर्माता कम्पनीमध्ये एक बीवाईडीले पछिल्ला वर्षहरूमा जापानसहित विश्वका विभिन्न बजारमा आफ्नो विस्तार तीव्र बनाउँदै आएको छ । जापानको विद्युतीय सवारी बजारमा प्रवेशलाई कम्पनीले दीर्घकालीन रणनीतिक कदमका रूपमा लिएको छ ।


