नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा. लि. बीच पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउने उद्देश्यसहित व्यवसायिक सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुवै संस्थाबीच भएको यस सम्झौताले कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूलाई आफ्नो आवास (Accommodation), खाना तथा पेय पदार्थ (Food & Beverage) सेवा तथा अन्य विभिन्न सुविधामा २० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने भएको छ। यस व्यवस्थाले रिसोर्टका सेवा सहज र किफायती रूपमा उपयोग गर्न सकिने विश्वास गरिएको छ।
त्यसैगरी, गुरु ट्राभल्स लिमिटेडले डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका कर्मचारी तथा सरोकारवालाहरूलाई आफ्ना अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरूमा रु. १०,००० सम्म नगद छुट उपलब्ध गराउने भएको छ। यसबाट रिसोर्टसँग आबद्ध व्यक्तिहरूले विदेश भ्रमणको योजना बनाउँदा विशेष आर्थिक लाभ प्राप्त गर्नेछन्।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका अध्यक्ष रामनाथ मैनालीले यस सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन र विश्वासिलो व्यावसायिक सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पर्यटन र आतिथ्य क्षेत्रबीचको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न थप सहज वातावरण सिर्जना गर्ने बताउनुभयो। साथै, यस्तो साझेदारीबाट सेवा विस्तार, ग्राहक सन्तुष्टि र पर्यटन व्यवसायको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो।
यस्तै, गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले यो समझदारी केवल छुट सुविधा प्रदान गर्ने सम्झौतामात्र नभई पर्यटन उद्योगका विभिन्न क्षेत्रबीच आपसी सहकार्यलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार दुवै संस्थाका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूले विशेष सुविधा प्राप्त गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत यस सहकार्यले उल्लेखनीय योगदान पुर्याउनेछ।
उहाँले पर्यटन र आतिथ्य उद्योग एकअर्काका परिपूरक क्षेत्र भएकाले यस्ता सहकार्यले सेवा गुणस्तर वृद्धि, ग्राहकमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रबीचको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सम्झौताको अन्त्यमा दुवै संस्थाले भविष्यमा ग्राहक तथा सरोकारवालामुखी नवीन सेवा तथा आकर्षक योजनाहरू विकास गर्दै दीर्घकालीन रणनीतिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पर्यटन तथा आतिथ्य क्षेत्रको विकास, सेवा विस्तार र गुणस्तरीय अनुभव प्रदान गर्ने साझा उद्देश्यका साथ आगामी दिनमा थप संयुक्त कार्यक्रम सञ्चालन गर्ने संकेतसमेत दिएका छन्।
यस समझदारीलाई नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने सकारात्मक पहलका रूपमा हेरिएको छ। यसबाट ग्राहकले प्रत्यक्ष लाभ प्राप्त गर्नुका साथै पर्यटन व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।


