पछिल्ला तीन कारोबार दिनदेखि लगातार घटिरहेको नेप्सेले आज विहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा बजार बन्द भएको छ ।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंक घटेको छ ।आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ । विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज कारोबार भएकामध्ये एभरेष्ट कलर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेको छ । सो कम्पनीको शेयरमूल्य १४८ रुपैयाँ ५० पैसा बढेर १ हजार १३८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ ।
तर, कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९९ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको करिब साढे १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ ।


