नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। चेम्बरले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
बुधबार जारी विज्ञप्तिमा चेम्बरले नेपाल विभिन्न धर्म, संस्कृति, भाषा र समुदायको साझा पहिचान बोकेको मुलुक भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ। विभिन्न समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वको भावना नेपालको सामाजिक संरचनाको आधार भएकाले त्यसको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व रहेको चेम्बरको भनाइ छ।
वर्तमान संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना तथा उत्तेजनात्मक सामग्रीले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै चेम्बरले यस्ता गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेको छ। कुनै पनि असहमति, विचार वा मतभेद मानव जीवन, सामाजिक एकता र राष्ट्रिय हितभन्दा ठूलो हुन नसक्ने उल्लेख गर्दै समस्याको समाधान संवाद, सहकार्य र आपसी विश्वासबाट खोज्नुपर्नेमा जोड दिइएको छ।
नेपाल चेम्बर अफ कमर्सले प्रभावित क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल तथा समुदायका अगुवाहरूले गरिरहेका प्रयासको प्रशंसा गरेको छ। यस्ता प्रयासलाई थप प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले पारदर्शिता, निष्पक्षता र आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
विज्ञप्तिमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। सबै धर्म, संस्कृति र समुदायप्रति सम्मानको भावना विकास गर्दै विभाजन होइन, एकताको वातावरण निर्माणमा योगदान पुर्याउन चेम्बरले आग्रह गरेको छ। दिगो शान्ति, स्थायित्व र समृद्धि सबैको साझा प्रयासबाट मात्र सम्भव हुने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ।
चेम्बरले आर्थिक विकास र सामाजिक सद्भावबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै सुरक्षित, स्थिर र शान्त वातावरणमा मात्र उद्योग, व्यापार, पर्यटन तथा लगानी विस्तार हुन सक्ने जनाएको छ। समुदायहरूबीचको विश्वास र सहकार्यले मात्र अर्थतन्त्रलाई मजबुत बनाउने भएकाले सामाजिक एकता कायम राख्नु आजको प्रमुख आवश्यकता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रभावित क्षेत्रमा व्यवसाय सञ्चालनमा परेका असरलाई ध्यानमा राख्दै चेम्बरले व्यवसायहरूको पुनर्स्थापना, जनविश्वास पुनर्निर्माण तथा समुदायबीच सहकार्य अभिवृद्धिका लागि निजी क्षेत्र सदैव सकारात्मक भूमिका खेल्न तयार रहेको प्रतिबद्धता जनाएको छ। सरकार, स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्यले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति स्थापना गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।
वक्तव्यको अन्त्यमा नेपाल चेम्बर अफ कमर्सले अहिलेको समय विभाजनभन्दा सहिष्णुता, टकराबभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, पारस्परिक विश्वास र राष्ट्रिय एकताको गौरवशाली परम्परालाई अझ सुदृढ बनाउन आह्वान गरेको छ। साथै सबै पक्षबीचको सहकार्य र विश्वासका आधारमा प्रभावित क्षेत्रमा चाँडै नै पूर्ण शान्ति कायम हुने र ती क्षेत्र अझ सुरक्षित, एकताबद्ध तथा समृद्ध बन्दै अघि बढ्ने विश्वास चेम्बरले व्यक्त गरेको छ।


