Banijya News

बजारमा ग्यास अभावको चरम अभाव, ‘आपूर्ति नियमित गर्न भन्दै, टेकुबाट पनि बिक्री सुरु’

1
1.0K Shares

पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन तथा तराईका विभिन्न जिल्लामा ग्यास डिलरहरूमा बिहानैदेखि लामो लाइन लाग्दै आएका छन् । कतिपय उपभोक्ताले हप्ता दिन सम्म पनि कुर्दा सिलिन्डर ग्यास पाउँन सकेका छैनन् ।

बजारमा देखिएको असहज अवस्थाले घरायसी उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन् । दैनिक खाना पकाउन आवश्यक ग्यास नपाउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ भने कतिपयले खाली सिलिन्डर बोकेर एक डिलरबाट अर्को डिलरसम्म धाउनुपरेको अवस्था छ ।

ग्यास विक्रेताहरूका अनुसार उद्योगबाट पर्याप्त परिमाणमा ग्यास उपलब्ध हुन नसक्दा वितरण प्रणाली प्रभावित बनेको हो । केही ग्यास उद्योगले भारतबाट हुने ढुवानीमा ढिलाइ, वर्षायामका कारण सडक अवरोध, यातायात व्यवस्थापनमा आएको समस्या तथा ढुवानी लागत बढेका कारण आपूर्ति प्रभावित भएको बताएका छन् । अर्कोतर्फ, माग अत्यधिक बढेको र सीमित परिमाणमा वितरण हुँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको दाबी गर्दे आएका छन् ।

यद्यपि, नेपाल आयल निगमले भने बजारमा एलपी ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ । निगमले दैनिक मागअनुसार आवश्यक परिमाणमा ग्यास आयात तथा वितरण भइरहेको जनाउँदै बजारमा अभाव भएको भन्ने समाचार र उपभोक्ताको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निगमका अनुसार आपूर्ति व्यवस्थालाई थप सहज बनाउन विशेष व्यवस्था समेत गरिएको छ ।

राजधानी उपत्यकामा बढ्दो मागलाई ध्यानमा राख्दै निगमले साउन १६ गते (शनिबार) देखि टेकुस्थित आफ्नै कार्यालय परिसरबाट पनि ग्यास बिक्री वितरण सुरु गरेको जनाएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको छ । जहाँ बाक्लो मात्रमा ग्यास लिनेको भिड लागेको छ ।

निगमले ग्यास उद्योगी तथा आधिकारिक विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई पहिलो प्राथमिकता दिएर वितरण गर्न निर्देशन दिएको छ । साथै बिक्री प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन खरिदकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्न पनि आग्रह गरिएको छ । यसबाट अनावश्यक खरिद, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास निगमको छ ।

बजारमा ग्यास नपाएको अवस्थामा उपभोक्ताले कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी लिन भनेको छ । निगमले कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने वा कालोबजारी गर्ने व्यवसायीमाथि निगरानी कडा पारिएको जनाएको छ ।

निगमले एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रूपमा जारी रहने भएकाले आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न उपभोक्तासँग आग्रह गरेको छ । आवश्यक परिमाणमा मात्रै खरिद गर्न सबैलाई अनुरोध गर्दै अनावश्यक भण्डारणले वास्तविक उपभोक्तालाई समस्या हुने चेतावनी पनि दिएको छ ।

यसअघि पनि बजारमा ग्यास अभाव देखिएपछि निगमले टेकु परिसरबाट प्रत्यक्ष बिक्री सुरु गरेको थियो । विशेषगरी पश्चिम एसियामा बढेको द्वन्द्वका कारण आपूर्ति प्रभावित हुँदा निगमले आधा सिलिन्डरका दरले समेत ग्यास वितरण गरेको थियो । त्यसपछि बजारमा आपूर्ति सहज बन्दै गएपछि उक्त व्यवस्था स्थगित गरिएको थियो । अहिले पुनः बजारमा ग्यास अभावको गुनासो बढ्न थालेपछि निगमले टेकुबाट प्रत्यक्ष बिक्रीको व्यवस्था पुनः सञ्चालनमा ल्याएको हो ।

1

Scroll to Top