Banijya News

काष्ठ उद्योगसहित १४ पसल जले, आगो निभाउँदा एक जना घाइते

1
1.1K Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीले एउटा काष्ठ उद्योगसहित १४ वटा व्यापारिक पसलमा ठूलो क्षति पुर्‍याएको छ। करेन्ट सर्ट भएर सुरु भएको आगो केही मिनेटमै फैलिँदा स्थानीय व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।

प्रहरीका अनुसार रबिन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम तथा सटरमा राति करिब ९ः१५ बजे आगलागी सुरु भएको थियो। काठ र अन्य ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिँदै वरपर रहेका पसलहरूमा पुगेको थियो। आगलागीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी, दमकल र स्थानीयवासी उद्धार तथा नियन्त्रण कार्यमा जुटेका थिए।

आगो नियन्त्रणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नौ वटा दमकल, तीन वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो। स्थानीय बासिन्दाको सक्रिय सहयोग र सुरक्षाकर्मीको निरन्तर प्रयासपछि करिब दुई घण्टापछि राति ११ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार निवासी ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। आगो नियन्त्रणमा सहयोग गर्ने क्रममा टहराको जस्तामाथिबाट लड्दा उनी घाइते भएको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारका लागि नगर अस्पताल मुलपानी लगिएको थियो। त्यसपछि थप उपचारका लागि सोही राति राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार आगलागीबाट ओम काष्ठ उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर पसल, मिठाई पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसल गरी कुल १४ वटा व्यवसायमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी उपरीक्षक दानबहादुर थापाको नेतृत्वमा १०० जना प्रहरी, विपद् व्यवस्थापन शाखा सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको कमाण्डमा २५ जना प्रहरी तथा सिनामंगलस्थित सशस्त्र प्रहरी बलबाट सहायक प्रहरी निरीक्षक हेराम कुँवरको नेतृत्वमा ५० जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका थिए। कुल १७५ जना सुरक्षाकर्मीको समन्वित प्रयास, दमकल र स्थानीयवासीको सहयोगले आगो थप फैलिन नदिई नियन्त्रणमा लिन सफलता मिलेको प्रहरीले जनाएको छ।

प्रहरीले आगलागीको कारण करेन्ट सर्ट भएको प्रारम्भिक निष्कर्ष निकालेको छ भने घटनाबाट भएको वास्तविक आर्थिक क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।

1

Scroll to Top