Banijya News

ब्रड पिक दुर्घटना : शव उद्धारका लागि आठ सदस्यीय टोली क्याम्पमा ल्याईदै

1
1.0K Shares

पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ब्रड पिकमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गर्न नेपाली र पाकिस्तानी सदस्य सम्मिलित आठ सदस्यीय विशेष टोलीले जोखिमपूर्ण अभियान अघि बढाएको छ। कठिन भूगोल, प्रतिकूल मौसम र हिमपहिरोको जोखिमका बीच टोली क्याम्प–१ (सी–१) पुगेको छ भने उद्धार कार्यलाई तीव्र बनाइएको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे उद्धार टोली क्याम्प–१ पुगेको हो। हिमपहिरोले प्रभावित क्षेत्र अत्यन्त जोखिमपूर्ण रहेकाले टोलीलाई घटनास्थलसम्म पुग्न र शव संकलन गर्न कठिनाइ भइरहेको छ। ड्रोनमार्फत केही शव देखिए पनि प्रत्यक्ष रूपमा त्यहाँ पुग्न अझै चुनौतीपूर्ण रहेको जनाइएको छ।

उद्धार अभियानमा समन्वय गरिरहेका नेपालका सांसद तथा अनुभवी आरोही मिङमा डेभिड शेर्पाका अनुसार ग्राउन्ड टिमले आजै दुर्घटनास्थलबाट शवहरू क्याम्प–१ सम्म ल्याउने योजना बनाएको छ। त्यसपछि मौसम अनुकूल रहेमा शवहरू भोलिपल्ट जापानी क्याम्पसम्म सारिनेछ। त्यहाँबाट हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याउने सम्भावना रहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शेर्पाले उद्धार अभियानको मूल उद्देश्य दिवंगत आरोहीहरूलाई सम्मानपूर्वक घर फर्काउनु रहेको उल्लेख गरेका छन्। उनले उद्धार टोलीका सदस्यहरूको सुरक्षालाई सबैभन्दा ठूलो प्राथमिकता दिइएको भन्दै प्रत्येक निर्णय जोखिमको सूक्ष्म मूल्याङ्कनपछि मात्रै लिइरहेको बताएका छन्। उनले अभियान सफल बनाउन सबैको सहयोग, विश्वास र प्रार्थनाको आवश्यकता अझै रहेको पनि उल्लेख गरेका छन्।

शेर्पाले यस कठिन घडीमा सहयोग पुर्‍याउने नेपाल सरकार, पाकिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, नेपालस्थित पाकिस्तानी दूतावास, पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान तथा उद्धार अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबै संस्था, परिवार र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

ब्रड पिकमा गएको हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोही बेपत्ता भएका थिए। शनिबार उनीहरू कोही पनि जीवित नरहेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय शोकमा डुबेको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा नेपालका निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। त्यसैगरी ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइसको पनि हिमपहिरोमा मृत्यु भएको पुष्टि भएको छ। अहिले उद्धार टोलीले जोखिमपूर्ण परिस्थितिका बीच उनीहरूको शव सम्मानपूर्वक सुरक्षित स्थानमा ल्याउने अभियान निरन्तर जारी राखेको छ।

1

Scroll to Top