स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई आयोजनाको सेयर अंकित मूल्य (प्रति कित्ता १०० रुपैयाँ) मै उपलब्ध गराउन माग गरेको छ ।
केही प्रवर्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला इप्पानले यस्तो धारणा सार्वजनिक गरेको हो । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार स्थानीयलाई लाभान्वित गराउने उद्देश्यले छुट्याइएको १० प्रतिशत सेयर अंकित मूल्यमै दिनुपर्नेमा जोड दिएका छन् ।
इप्पानका अनुसार जलविद्युत् आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाले जग्गा उपलब्ध गराउनेदेखि वातावरणीय र सामाजिक प्रभावहरू भोग्दै आएका हुन्छन् । निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजना सफल बनाउन प्रत्यक्ष सहयोग गर्ने स्थानीयलाई आयोजनाको स्वामित्वमा सहभागी गराउनु नै सेयरको मुख्य उद्देश्य भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, यदि प्रिमियम मूल्यमा सेयर निष्कासन गरियो भने स्थानीयको पहुँच सीमित हुने र आयोजनाप्रतिको अपनत्व कमजोर हुन सक्ने इप्पानले जनाएको छ । स्थानीयलाई सस्तो (अंकित) मूल्यमा सेयर दिँदा आयोजना र समुदायबीचको विश्वास बलियो हुने, सामाजिक विवाद कम हुने र आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने इप्पानको ठहर छ । यसले स्थानीयको आर्थिक सशक्तीकरण र सामाजिक सद्भावमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सेयर निष्कासन रोकिएकोप्रति नियामकको ध्यानाकर्षण
लामो समयदेखि जलविद्युत् कम्पनीहरूको साधारण सेयर निष्कासन प्रक्रिया रोकिएकोप्रति पनि इप्पानले चिन्ता व्यक्त गरेको छ । नियामकीय झन्झटका कारण सेयर निष्कासनमा भएको ढिलाइले प्रवर्धकहरू समस्यामा परेको भन्दै इप्पानले प्रक्रियालाई सरल,पारदर्शी र समयबद्ध बनाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
इप्पानले आफ्ना सम्पूर्ण सदस्य कम्पनीहरूलाई पनि स्थानीयको हित र आयोजनाको दीर्घकालीन स्थायित्वका लागि प्रति कित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउने नीति अवलम्बन गर्न आग्रह गरेको छ । हाल नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको र ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन स्थानीयको साझेदारी अनिवार्य रहेको इप्पानको निष्कर्ष छ ।
साथै, इप्पानले जलविद्युत क्षेत्रको लगानीमैत्री वातावरण सुदृढ गर्न र आयोजनाहरूले भोगिरहेका वित्तीय समस्या समाधानका लागि समयमै सेयर निष्कासन गर्ने परिपाटीको विकास गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।


