अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बी ०३ एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ । नेपालका निम्ति लिपमोटरको एक मात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले भित्र्याएको यो बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीलाई नेपाली सडकको विविधता र ग्राहकको चाहनालाई ध्यानमा राखेर तयार पारिएको छ । प्रविधि र सुविधाको उत्कृष्ट संयोजन रहेको यस गाडीमा १४५ किलोवाटको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ । कम्पनीका अनुसार यस एसयूभीले एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको प्रभावशाली रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ । सुरक्षाका दृष्टिले यसमा ‘एडिएस लेभल २’ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र सहज ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ ।
विश्वव्यापी रूपमा मासेराटी, जीप, प्युजोलगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ । चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ब्रान्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ । यसमध्ये जुलाई महिनामा मात्र एक लाखभन्दा बढी युनिट बिक्री भएको थियो ।
विश्वका ४० भन्दा बढी देशमा फैलिएको एक हजार ७०० भन्दा धेरै बिक्री तथा सेवा केन्द्रको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ ।
सांग्रिला मोटर्सका अनुसार औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ । अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाएको यस ब्रान्डले नेपाली ग्राहकलाई पनि आधुनिक प्रविधि र विश्वसनीय सेवाको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।


