यातायात व्यवस्था विभागले मालबाहक सार्वजनिक सवारीसाधनको मात्र दर्ता खुला गर्ने निर्णय गरेको छ । विभागले यही साउन १५ गते निर्णय गर्दै मालबाहक सार्वजनिक सवारीसाधनको मात्र दर्ता खुला गर्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागले गएको जेठ ७ गतेदेखि सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाउन निर्देशन गरेको थियो । त्यसपछि गत असार ८ गते प्रतितपत्र (एलसी) खोली सार्वजनिक सवारीसाधन ल्याउन तथा दर्ता प्रक्रिया अघि बढाइसकेकाको हकमा दर्ता गराउने निर्णय गरेको थियो ।
विभागले भनेको छ– ‘यस विभागको मिति २०८३/०२/०७ को पत्रबमोजिम सार्वजनिक सवारीसाधनको दर्ता रोक्का सम्बन्धमा अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीसाधनहरुको नयाँ दर्ता रोक्का भएको व्यहोरा अवगत नै छ । सोही सन्दर्भमा आजको मितिदेखि सम्पूर्ण मालबाहक सार्वजनिक सवारीसाधनहरुको मात्र दर्ता खुला गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
यातायात व्यवस्था विभागले यसअघि बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै देशभर नयाँ सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएको थियो ।
विभागले उक्त निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) अनुसार गरिएको जनाएको थियो । उक्त व्यवस्थामा वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा अन्य कारणले सार्वजनिक हितका लागि आवश्यक ठानेमा कुनै पनि प्रकारका सवारीसाधनको दर्ता रोक्न सकिने प्रावधान छ ।
विभागले त्यस्तो निर्णय गरेपनि गएको जेठ २० गते बागमती प्रदेश सरकारले भने सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया साबिकबमोजिम जारी राख्न निर्देशन जारी गरेको थियो । बागमतीबाहेकका अन्य प्रदेश सरकारले भने निर्णय गरेका छैनन् ।


