Banijya News

उद्योग वाणिज्य महासंघका तीन विषयगत समितिले पाए पूर्णता

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघका थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । महासंघअन्तर्गत विभिन्न २५ वटा समिति छन् । तीमध्ये पछिल्लोपटक तीनवटा विषयगत समितिले पूर्णता पाएका हुन् ।

यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा संघर्ष विष्टको सभापतित्वको पर्यटन तथा हवाई यातायात समितिले पूर्णता पाएका हुन् ।

महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा महासंघका विभिन्न विषयगत समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यबाहक अध्यक्ष सुरजकृष्ण वैद्यले महासंघका विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए । उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न आग्रह गरे ।

महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै कार्यबाहक अध्यक्ष वैद्यले भने, ‘समितिहरूले निजी क्षेत्रका समस्या समाधानसँगै नयाँ सम्भावनाको खोजी, नीति निर्माणमा सहजीकरण र लगानी तथा व्यवसाय विस्तारका लागि वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले समितिहरूलाई परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै निजी क्षेत्रका साझा सवालमा महासंघको संस्थागत धारणा निर्माणमा समितिहरूको योगदान महत्वपूर्ण हुने बताए ।

त्यस्तै, महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताए । उनले सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीहरूका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्न समितिहरूलाई आग्रह गरे । उनले समितिहरूले आफ्नो क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाको अध्ययन गरी तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव महासंघमा पेश गर्नुपर्नेमा जोड दिए ।

महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता अझ बलियो बन्ने बताए । उनले विषयगत क्षेत्रमा देखिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि निजी क्षेत्र, सरकार तथा सरोकारवाला निकायबीच समन्वय कायम गर्न समितिहरूले भूमिका खेल्नुपर्ने बताए ।

सो अवसरमा बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने बताए । उनले वित्तीय संस्थाहरूसँगको समन्वय बढाएर व्यवसाय विस्तार र लगानी प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित समितिले काम गर्ने बताए । उनले मेलामार्फत स्वदेशी उत्पादनको प्रवद्र्धन, बजार विस्तार र व्यवसायीहरूबीचको सहकार्यलाई प्राथमिकता दिने धारणा राखे ।

पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण र निजी क्षेत्रको लगानी सुरक्षाका लागि समितिले निरन्तर पहल गर्ने बताए । उनले सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारमा जोड दिने प्रतिबद्धता जनाए ।

1

Scroll to Top