खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज रिर्भसल हुँदा एक्सेल डेभलपमेन्ट बैंकको नाफामा उछाल आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ३० करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२७८४.८० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको खुद नाफा १३ लाख ५१२ हजारमा सीमित थियो ।
यस्तै, समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ६४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा ५६ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि ८ करोड २९ लाख रुपैयाँबाट बढेर ९ करोड ५५ लाख पुगेको छ ।
चौथो त्रैमासमा बैंकको वितरणयोग्य मुुनाफा १७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने १ करोड २६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । अघिल्लो आवमा १.०१ प्रतिशतले ऋणात्मक रहेको बैंकको लाभांश क्षमता समेत १४.३८ रुपैयाँले धनात्मक बनेको छ ।
यस अवधिमा बैंकको इम्पेयरमन्ट चार्ज १९ करोड ४२ लाख रुपैयाँले रिभर्सल भएको छ । समीक्षा अवधिमा बैंकले निष्कृय कर्जा समेत घटाएको छ । बैंकको निष्कृय कर्जा ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा सीमित बनेको छ ।
१ अर्ब २४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिजर्भमा ७८ करोड ४१ लाख र रिटेन्ड अर्निङमा १७ करोड ९७ लाख रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी समेत ०.११ रुपैयाँबाट बढेर २४.७६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७०६.७८ रुपैयाँ, पीई रेसियो २२.६७ गुणा र तरलता अनुपात ३४.८४ प्रतिशत कायम भएको छ ।


